४६२ किमि रेन्जसहित दिपल नेभो क्यु ०५ नेपालमा

  • कालिका खवर
  • बिहिबार, भदौ ४, २०८३
  • काठमाडाैं । प्रिमियम फिचरसहितको विद्युतीय एसयूभी दिपल नेभो क्यु ०५ नेपाल भित्रिएको छ। नेपालका लागि दिपलको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धिले आगामी नाडा अटो शो २०२६ मा यो गाडी सार्वजनिक गर्ने तयारी गरेको छ। कम्प्याक्ट आकारमा देखिए पनि फराकिलो केबिन, लामो ह्विलबेस र आधुनिक प्रविधिका कारण नेभो क्यु ०५ ले नेपाली विद्युतीय सवारी बजारमा प्रतिस्पर्धा थप बढाउने देखिएको छ।

    नेभो क्यु ०५ मा २ हजार ७ सय ३५ एमएमको ह्विलबेस रहेको छ, जुन कम्पनीका अनुसार यो सेग्मेन्टकै लामो हो। यसको केबिन स्पेस उपयोग क्षमता ८६.६ प्रतिशत रहेकाले पछाडिका यात्रुले पनि पर्याप्त लेग स्पेस पाउने दाबी गरिएको छ। गाडीमा ५४० लिटरको डुअल-लेभल बुट रहेको छ, जसमा ९० लिटरको लुकेको स्टोरेज स्पेससमेत छ। १.८ वर्गमिटरको प्यानोरामिक ग्लास रूफ, भेन्टिलेटेड पावर फ्रन्ट सिट र पछाडिका यात्रुका लागि दुई-स्तरीय रिक्लाइनिङ सिट पनि उपलब्ध छन्।

    आरामदायी र शान्त यात्राका लागि गाडीमा ६७ भन्दा बढी साउन्ड-इन्सुलेसन पोइन्ट प्रयोग गरिएको छ। कम्पनीका अनुसार ६० किलोमिटर प्रतिघण्टाको गतिमा गाडी चलाउँदा केबिनमा ६२ डेसिबलसम्म मात्र आवाज सुनिन्छ। डिजाइनतर्फ डिजिटल विङ २.० फुल-विड्थ डीआरएल, स्टार-रिङ म्याट्रिक्स टेललाइट, सेमी-हिडन डोर ह्यान्डल र १८-इन्च एलोय ह्विल राखिएको छ। ०.२६५ सीडी ड्राग कोफिसिएन्टका कारण गाडीलाई वायुगतिकीय रूपमा समेत प्रभावकारी बनाइएको कम्पनीको भनाइ छ। नेभो क्यु ०५ पाँच रङ—अरोरा नोभा, मुनलाइट ह्वाइट, मर्करी सिल्भर, स्टारलाइट ग्रे र डिप स्पेस ब्ल्याकमा उपलब्ध हुनेछ।

    गाडीमा ५१.९ किलोवाट आवरको एलएफपी सीएटीएल गोल्डेन सिल्ड २.० ब्याट्री प्रयोग गरिएको छ, जसले एनईडीसीअनुसार ४६२ किलोमिटर रेन्ज दिने दाबी गरिएको छ। १६२ किलोवाट डीसी फास्ट चार्जिङ प्रविधिमार्फत ब्याट्रीलाई ३० देखि ८० प्रतिशतसम्म १५ मिनेटमै चार्ज गर्न सकिने कम्पनीले जनाएको छ। पाँच मिनेट चार्ज गर्दा करिब १०० किलोमिटर रेन्ज थपिने दाबी पनि गरिएको छ। ब्याट्रीलाई ५ हजारभन्दा बढी चार्ज साइकल र माइनस ३० डिग्री सेल्सियससम्मको तापक्रममा परीक्षण गरिएको बताइएको छ।

    नेभो क्यु ०५ मा ३.३ किलोवाटको भीटूएल प्रविधि पनि छ, जसबाट गाडीको ब्याट्री प्रयोग गरी कफी मेसिन, प्रोजेक्टर वा बत्ती सञ्चालन गर्न सकिन्छ। १२० किलोवाटको मोटरले गाडीलाई ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति ८.२ सेकेन्डमा पुर्‍याउने दाबी गरिएको छ। सुरक्षाका लागि १८ वटा एडीएएस फिचर समावेश छन्, जसमा इमर्जेन्सी लेन किपिङ, ब्लाइन्ड स्पट डिटेक्सन, रियर क्रस-ट्राफिक ब्रेकिङ र सेफ एक्जिट असिस्ट रहेका छन्।

    गाडीको ड्यासबोर्डमा १४.६ इन्चको १०८०पी टचस्क्रिन र १०.१७ इन्चको डिजिटल क्लस्टर रहेको छ। मिडियाटेक एमटी८६७५ अटोमोटिभ चिपबाट सञ्चालित प्रणालीमा वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो, ५० वाट वायरलेस चार्जिङ, बिल्ट-इन ड्यासक्याम, ३डी ५४०-डिग्री क्यामेरा, मोबाइल एप कनेक्टिभिटी, ब्लुटुथ कि र ओटीए अपडेट सुविधा दिइएको छ। एमएडब्लु वृद्धिले नेभो क्यु ०५ मा नेपालकै सेग्मेन्ट-फर्स्ट ५ वर्ष वा १ लाख ५० हजार किलोमिटरको वारेन्टी दिने जनाएको छ।

    कम्पनीले नेभो क्यु ०५ ले बीवाईडी एट्टो २ र माथिल्लो सेग्मेन्टको एट्टो ३ लाई ह्विलबेस, बुट स्पेस, चार्जिङ गति र एडीएएस फिचरमा पछि पार्ने दाबी गरेको छ। एट्टो २ को २ हजार ६ सय २० एमएम ह्विलबेस, ३८० लिटर बुट, ८२ किलोवाट चार्जिङ र १० एडीएएस फिचरको तुलनामा नेभो क्यु ०५ मा क्रमशः २ हजार ७ सय ३५ एमएम ह्विलबेस, ५४० लिटर बुट, १६२ किलोवाट चार्जिङ र १८ एडीएएस फिचर रहेको कम्पनीको भनाइ छ। फोक्सवागन ग्रुपका पूर्व ग्लोबल डिजाइन प्रमुख क्लास ज्यासियोराको नेतृत्वमा ९१५ डिजाइनरको टोलीले विकास गरेको यो गाडीले अन्तर्राष्ट्रिय रूपमा गोल्डेन ए डिजाइन अवार्डसमेत जितिसकेको कम्पनीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar