४२ लाख ९९ हजारमा बीवाइडी एटो २ सुपरियर, शार्क ६ ले तान्यो सबैको ध्यान

  • कालिका खवर
  • बिहिबार, भदौ ११, २०८३
  • काठमाडौं । बीवाइडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले जारी नाडा अटो शो २०२६ मा आफ्नो नयाँ इभि सवारीसाधन पोर्टफोलियो विस्तार गर्दै नयाँ बीवाइडी एटो २ सुपरियर र अपग्रेडेड सिलायन ७ सार्वजनिक गरेको छ । कम्पनीले  बीवाइडी शार्क ६ समेत प्रदर्शनीमा राखेको छ ।

    अवलोकनकर्ताहरूले यी नयाँ सवारीसाधनको प्रत्यक्ष अनुभव गर्न सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ । नाडा अटो शोमा विशेषगरी नयाँ प्रविधि, आधुनिक डिजाइन तथा उच्च कार्यसम्पादन भएका बीवाइडीका सवारीसाधनले दर्शकहरूको ध्यान आकर्षित गरेका छन् ।

    साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले नेपालमा विद्युतीय सवारीसाधनप्रति उपभोक्ताको बढ्दो आकर्षणलाई ध्यानमा राख्दै बीवाइडीले नवीनतम प्रविधियुक्त मोडलहरू ल्याइरहेको बताइन्। उनका अनुसार नयाँ मोडलहरूले नेपाली ग्राहकलाई आधुनिक प्रविधि, सुरक्षा, आराम र उत्कृष्ट ड्राइभिङ अनुभव प्रदान गर्नेछन्।

    बीवाइडी एटो २ सुपरियरलाई एटो रेन्जको टप भेरियन्टका रूपमा ल्याइएको हो । यसअघि एसिन्सियल र प्रिमियम भेरियन्टमा उपलब्ध यो गाडी अब सुपरियर थपिएसँगै तीन भेरियन्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

    एटो २ सुपरियरमा इलेक्ट्रिक सनरुफ, रुफ र्याकसहितको प्यानोरामिक ग्लासरुफ, एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडास), कोल्ड भेन्टिलेसन, रियर क्रस ट्राफिक अलर्ट, ब्लाइन्ड स्पट डिटेक्सन तथा डोर ओपन वार्निङजस्ता सुरक्षा फिचर समावेश छन् । नाडा अटो शोका लागि यसको प्रारम्भिक मूल्य ४२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

    त्यसैगरी, प्रदर्शनीमा राखिएको बीवाइडी शार्क ६ कम्पनीको डीएमओ सुपर हाइब्रिड अफरोड प्लेटफर्ममा आधारित लक्जरी पिकअप हो । १.५ टी हाई पावर इन्जिन, ईएचएस हाइब्रिड सिस्टम र अल–इलेक्ट्रिक ड्राइभको संयोजन रहेको यस गाडीले ४३० हर्सपावरभन्दा बढी शक्ति उत्पादन गर्ने कम्पनीको दाबी छ । यसले ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति ५.७ सेकेन्डमा लिन सक्ने बताइएको छ ।

    शार्क ६ मा २९.५८ किलोवाट आवर क्षमताको ब्याट्री रहेको छ भने चार इलेक्ट्रिक मोटर र फास्ट चार्जिङ सुविधासहित कुल ड्राइभिङ रेन्ज ८०० किलोमिटरसम्म पुग्ने उल्लेख गरिएको छ । कम्पनीले यस गाडीको मूल्य भने हालसम्म सार्वजनिक गरेको छैन । नाडा अटो शोमा एटो २ सुपरियर, सिलायन ७ र शार्क ६ को प्रदर्शनीले बीवाइडीको स्टललाई प्रमुख आकर्षणमध्ये एक बनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar