४०० किलोमिटर रेन्ज र आकर्षक क्रसओभर डिजाइनसहित नेपाल आयो चेरी क्यू, मूल्य ३०.९९ लाखदेखि

  • कालिका खवर
  • मङ्लबार, साउन २६, २०८३
  • काठमाडौं । प्रिमियम डिजाइन, लामो रेन्ज र आधुनिक प्रविधिसहितको नयाँ विद्युतीय सवारीसाधन चेरी क्यू नेपाली बजारमा सार्वजनिक भएको छ। नेपालका लागि चेरी गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ मार्फत चेरी क्यूलाई औपचारिक रूपमा सार्वजनिक गरेको हो।

    क्रसओभर डिजाइनमा तयार पारिएको चेरी क्यू नेपाली विद्युतीय सवारीसाधन बजारमा प्रिमियम ह्याचब्याक सेग्मेन्टलाई लक्षित गरेर ल्याइएको कम्पनीले जनाएको छ। कम्पनीले यसको कम्फर्ट भेरियन्टको नियमित मूल्य ३४ लाख ४९ हजार रुपैयाँ र प्रिमियम भेरियन्टको मूल्य ३५ लाख ९९ हजार रुपैयाँ तोकेको छ।

    यद्यपि, एक्स्पो विशेष योजनाअन्तर्गत ग्राहकले चेरी क्यूको कम्फर्ट भेरियन्ट ३० लाख ९९ हजार रुपैयाँ र प्रिमियम भेरियन्ट ३२ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सक्नेछन्।

    ४१.२ किलोवाट आवरको ब्याट्री, ४०० किलोमिटर रेन्ज

    चेरी क्यूमा ४१.२ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ। कम्पनीका अनुसार यसले एकपटक पूर्ण चार्ज गर्दा ४०० किलोमिटरसम्मको ड्राइभिङ रेन्ज प्रदान गर्छ।

    चार्जिङका लागि यसमा ८५ किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सुविधा उपलब्ध छ। यसबाट ब्याट्रीलाई ३० प्रतिशतबाट ८० प्रतिशतसम्म करिब १६ मिनेटमै चार्ज गर्न सकिने कम्पनीको दाबी छ।

    त्यस्तै, गाडीमा भी–टु–एल (V2L) सुविधा समेत उपलब्ध छ। यसले आवश्यक अवस्थामा बाह्य विद्युतीय उपकरण सञ्चालन गर्न समेत सहयोग गर्छ।

    ५४० डिग्री क्यामेरादेखि एडाससम्म

    चेरी क्यूमा यात्राको सहजता र सुरक्षालाई ध्यानमा राख्दै विभिन्न आधुनिक फिचर समावेश गरिएको छ। यसमा १७५ मिलिमिटर ग्राउण्ड क्लियरेन्स, ५४० डिग्री सराउण्ड क्यामेरा तथा १५.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम उपलब्ध छ।

    गाडीमा २० भन्दा बढी सुरक्षा तथा ड्राइभिङ सहायता प्रणालीसहितको एडास (ADAS) प्रविधि दिइएको कम्पनीले जनाएको छ। उन्नत विद्युतीय प्लेटफर्ममा निर्माण गरिएको चेरी क्यू रियर ह्वील ड्राइभ (RWD) प्रणालीमा आधारित छ।

    १,४५० लिटरसम्म बुट स्पेस

    चेरी क्यूको बाहिरी डिजाइन आकर्षक क्रसओभर शैलीमा तयार गरिएको छ भने यसको इन्टेरियरलाई फराकिलो र व्यावहारिक बनाइएको छ। गाडीमा सामान्य अवस्थामा ३७५ लिटरको बुट स्पेस उपलब्ध छ।

    पछाडिका सिट फोल्ड गरेपछि बुट स्पेसलाई १,४५० लिटरसम्म विस्तार गर्न सकिने कम्पनीले जनाएको छ। यसले दैनिक प्रयोगसँगै लामो यात्रामा समेत पर्याप्त सामान राख्न सहज हुने अपेक्षा गरिएको छ।

    अन्तर्राष्ट्रिय डिजाइन अवार्ड विजेता

    चेरी क्यूले अन्तर्राष्ट्रिय डिजाइन क्षेत्रमा समेत आफ्नो पहिचान बनाइसकेको कम्पनीको भनाइ छ। यो मोडलले रेड डट डिजाइन अवार्ड २०२५ र आईएफ डिजाइन अवार्ड २०२६ प्राप्त गरिसकेको छ।

    आकर्षक डिजाइन, प्रतिस्पर्धी रेन्ज, फास्ट चार्जिङ क्षमता र आधुनिक सुरक्षा प्रविधिसहित चेरी क्यू नेपाली बजारमा सार्वजनिक भएसँगै ३०–३५ लाख रुपैयाँको विद्युतीय सवारीसाधन सेग्मेन्टमा प्रतिस्पर्धा थप रोचक हुने देखिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar