४० किलोवाट ब्याट्रीसहितको नयाँ टाटा पन्च ईभी नेपालमा, ३०० किलोमिटरभन्दा बढी रेन्जको दाबि 

  • कालिका खवर
  • शुक्रबार, साउन २२, २०८३
  • काठमाडौं । नेपाली बजारमा लोकप्रिय रहेको टाटा पन्च ईभी अब थप शक्तिशाली ब्याट्री र नयाँ फिचर्ससहित आउने भएको छ। टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले ४० किलोवाट ब्याट्री प्याक भएको नयाँ पन्च ईभीको मिडिया टेस्ट ड्राइभ आयोजना गर्दै गाडीका विशेषता सार्वजनिक गरेको हो।

    भक्तपुरको राधेराधेदेखि धुलिखेलस्थित टेम्पल डर्टसम्म सञ्चालन गरिएको टेस्ट ड्राइभमा गाडीको अफ–रोड क्षमता, ड्राइभिङ अनुभव र कम्फर्टको परीक्षण गरिएको थियो।

    सिप्रदी ट्रेडिङको प्यासेन्जर भेहिकल डिभिजनका जनरल म्यानेजर सावन्तजंग सिजापतिका अनुसार नयाँ पन्च ईभी अघिल्लो संस्करणभन्दा उल्लेखनीय रूपमा परिमार्जित गरिएको छ।

    उनले अघिल्लो २५ किलोवाट ब्याट्री भएको पन्च मुख्यतः सहरी प्रयोगका लागि उपयुक्त भए पनि नयाँ ४० किलोवाट ब्याट्री प्याकले लामो दूरी र राजमार्ग यात्रालाई समेत सहज बनाउने बताए। उनका अनुसार एक पटकको पूर्ण चार्जमा गाडीले ३०० किलोमिटरभन्दा बढी दूरी तय गर्न सक्ने भएकाले अन्तरसहर यात्रा पनि सहज हुनेछ।

    नयाँ पन्च ईभीमा ४० किलोवाटको ठूलो ब्याट्री प्याक, १९५ एमएम ग्राउण्ड क्लियरेन्स, ५–स्टार सेफ्टी रेटिङ, ६ वटा एयरब्याग तथा ६० भन्दा बढी सुरक्षा फिचर्स समावेश गरिएको कम्पनीले जनाएको छ। साथै ३६० डिग्री क्यामेरा, अपग्रेड गरिएको इन्फोटेनमेन्ट सिस्टम र थप फराकिलो क्याबिन स्पेस पनि उपलब्ध गराइएको छ।

    कम्पनीका अनुसार नयाँ पन्च ईभीको आधिकारिक मूल्य र औपचारिक लन्च आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पोमा गरिनेछ। मूल्य प्रतिस्पर्धी बनाउने प्रयास भइरहेको कम्पनीको भनाइ छ।

    सिप्रदीले सोही एक्स्पोमा पन्च ईभीसँगै अर्को नयाँ टाटा मोडल पनि सार्वजनिक गर्ने तयारी गरेको छ। तर, उक्त मोडलबारे कम्पनीले अहिलेसम्म कुनै विवरण खुलाएको छैन।

    कम्पनीका अनुसार हाल देशभर २१ वटा ईभी केन्द्रित सर्भिस सेन्टर, ३८ वटा डीसी फास्ट चार्जर र १५० भन्दा बढी एसी चार्जिङ प्वाइन्ट सञ्चालनमा छन्। प्रत्येक नयाँ ईभी खरिदकर्तालाई निःशुल्क होम चार्जर जडानको सुविधा पनि निरन्तर उपलब्ध गराइँदै आएको छ।

    सिप्रदीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा बुकिङ गर्ने ग्राहकलाई विशेष अफर तथा तत्काल गाडी डेलिभरीको सुविधा दिने तयारीसमेत गरेको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar