१९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव २०८२ पुस ११ देखि १३ सम्म सोरहामा

  • कालिका खवर
  • मङ्लबार, पुस १, २०८२
  • चितवन। चितवनको प्रमुख पर्यटकीय गन्तव्य सोरहामा आगामी पुस ११ देखि १३ गतेसम्म १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव २०८२ आयोजना हुने भएको छ। क्षेत्रीय होटल संघ नेपाल–चितवनको आयोजना तथा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लि. र रेस्टुरेन्ट एण्ड बार एशोसिएसन नेपाल, चितवनको सह–आयोजनामा हुने महोत्सवले पर्यापर्यटन, जैविक विविधता संरक्षण र स्थानीय उत्पादनको प्रवर्द्धनलाई मुख्य उद्देश्य बनाएको छ।

    महोत्सव अवधिभर करिब ५० वटा हात्तीको सहभागितामा शोभायात्रा, विभिन्न जातजातिको सांस्कृतिक झाँकी, हात्ती श्रृंगार प्रतियोगिता, हात्ती बनभोज, हात्ती स्वास्थ्य शिविर, हात्तीको दैनिकीबारे जानकारीमूलक कार्यक्रम तथा पालिका स्तरीय डुङ्गा दौड प्रतियोगिता आयोजना गरिनेछ। साथै मानव–वन्यजन्तु सहअस्तित्व, पर्यापर्यटन र संरक्षणमा हात्तीको भूमिकाबारे अन्तरक्रिया, विद्यालयस्तरीय वक्तृत्वकला तथा लाइभ चित्रकला प्रतियोगितासमेत समावेश छन्।

    महोत्सवले सफारी पर्यटनलाई दिगो ढंगले प्रवर्द्धन गर्दै अतिथि पाहुनालाई हात्ती सफारी, जीप सफारी, डुङ्गा सफारी र पैदल वनयात्रामार्फत चितवन राष्ट्रिय निकुञ्ज र आसपासका पर्यटकीय गन्तव्यसँग परिचित गराउने लक्ष्य राखेको छ। महिलाउद्यमी र स्थानीय कृषि उत्पादनको प्रवर्द्धन पनि महोत्सवका प्रमुख आकर्षण रहने आयोजकले जनाएको छ।

    यस अवसरमा पुस ११ देखि १३ गतेसम्म क्षेत्रीय होटल संघ नेपाल–चितवन र रेबान सोरहामा आबद्ध होटल तथा रेस्टुरेन्टमा खानपान र आवासमा १० प्रतिशत छुट प्रदान गरिनेछ। महोत्सव स्थल रत्ननगर नगरपालिका–७, बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा तय गरिएको छ।

    आयोजकका अनुसार चितवन हात्ती तथा पर्यटन महोत्सव मानव र वन्यजन्तुको सहअस्तित्वको जीवित उदाहरण हो। परम्परा, जीविकोपार्जन र संरक्षणलाई सन्तुलनमा राख्दै चितवनको पर्यटन विकासमा योगदान पुर्‍याउँदै आएको यस महोत्सवले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चितवनको पहिचान थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar