युरोपले एआई अपनाउन ढिलाइ गरे भविष्य जोखिममा पर्ने चेतावनी: ईसीबी प्रमुख लागार्ड

  • कालिका खवर
  • मङ्लबार, मंसिर ९, २०८२
  • काठमाडौँ । युरोपेली केन्द्रीय बैंक (ईसीबी) की प्रमुख क्रिस्टिन लागार्डले कृत्रिम बौद्धिकता (एआई) अपनाउनमा भइरहेको ढिलाइका कारण युरोपको भविष्य ‘खतरामा’ पर्न सक्ने चेतावनी दिएकी छन्। उनले एआई प्रयोगमा देखिएका सबै अवरोधलाई तत्काल हटाउनुपर्ने आवश्यकता औँल्याउँदै ब्राटिस्लाभा सम्मेलनमा गम्भीर चिन्ता व्यक्त गरिन्।

    ‘हामीलाई यो परिवर्तन अँगाल्न रोक्ने सबै अवरोधहरू हटाउने समय अब ढिलो भैसकेको छ,’ लागार्डले भनिन्। उनका अनुसार एआईलाई वेवास्ता गर्नु युरोपले आफ्नै भविष्यलाई जोखिममा पार्नु सरह हुनेछ।

    एआईका विशेषज्ञ र समर्थकहरूका अनुसार अत्यधिक नियमन, नवीनताको कमी, र कम लगानीका कारण युरोप हाल संयुक्त राज्य अमेरिका र चीनभन्दा धेरै पछाडि परेको छ। लागार्ड पनि यही मूल्यांकनसँग सहमत छिन्।

    ‘युरोपले पहिले नै एआईमा पहिलो मूभरको अवसर गुमाइसकेको छ,’ उनले भनिन्, ‘तर यदि युरोपेली राष्ट्रहरूले आफ्ना प्रमुख उद्योगहरूमा निर्णायक रूपमा प्रविधि अपनाए भने ढिलो सुरुवातलाई पनि प्रतिस्पर्धात्मक फाइदामा बदल्न सकिन्छ।’

    लागार्डले एआईको विकास तथा विस्तारमा बाधक बनेका धेरै अवरोधहरूबारे चर्चा गरिन्, जसमा खण्डित नियमहरू, उच्च ऊर्जा लागत, तथा एआई मोडेलहरू परिचालन गर्न आवश्यक विशाल डाटा केन्द्रहरूको महँगो सञ्चालनसमेत शामिल छन्।

    उनका अनुसार एआई अपनाउन थप ढिलाइको परिणाम केवल ‘एआई मोडेलहरूको दौडमा पछि पर्नु’ मात्र होइन, दीर्घकालीन रूपमा युरोपका धेरै उद्योग र क्षेत्रहरूमा प्रतिस्पर्धात्मक क्षमता झनै कमजोर बन्नु पनि हो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar