वैदेशिक रोजगारीमा जाँदा थप बिल-रसिद बुझाउनु पर्दैन : अध्यागमन विभाग

  • कालिका खवर
  • शनिबार, चैत्र २८, २०८२
  • काठमाडौँ : अध्यागमन विभागले वैदेशिक रोजगार विभागबाट जारी सूचना तथा सञ्चारमाध्यममा प्रकाशित समाचारका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयबाट प्रस्थान गर्दा नेपाली श्रमिकले बुझाउनुपर्ने कागजातका विषयमा अन्योल सिर्जना गरेको भन्दै प्रस्ट पारेको छ।

    विभागले सूचना जारी गरी वैदेशिक रोजगारीका लागि जाने नेपालीको हकमा वैदेशिक रोजगार विभागबाट जारी भएका श्रम स्वीकृति र राहदानीलगायत न्यूनतम आधारभूत कागजातबाहेक अध्यागमन कार्यालयमा थप कुनै कागजात तथा बिल/रसिद पेस गर्न नपर्ने जानकारी गराएको हो।

    सूचनामा भनिएको छ, ‘वैदेशिक रोजगारीको सिलसिलामा प्रस्थान गर्ने नेपाली श्रमिकहरूको हकमा वैदेशिक रोजगार विभागबाट जारी भएको श्रम स्वीकृति र राहदानीलगायतका न्यूनतम आधारभूत कागजातबाहेक नेपाली श्रमिकहरूले नेपाल बाहिर प्रस्थान गर्दा अध्यागमन कार्यालयमा थप कुनै पनि कागजात तथा बिल/रसिद पेस गर्न नपर्ने बेहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध गरिन्छ।’

    यस्तै अध्यागमन विभागले २०८२/०७/१३ मा गृह मन्त्रालयले गरेको निर्णय र प्रचलित अध्यागमन कानुनअनुसार भिजिट भिसामा नेपालबाट प्रस्थान गर्ने नेपाली नागरिकका सन्दर्भमा कम्तीमा ६ महिना वैध अवधि भएको राहदानी, गन्तव्य मुलुकसम्मको हवाई टिकट र सम्बन्धित मुलुकको भिसा भएमा स्वघोषणासहित विदेश प्रस्थान गर्न सकिने बताएको छ।

    सूचनाको अन्त्यमा भनिएको छ, ‘यस सम्बन्धमा विदेश यात्रा गर्ने नेपाली नागरिकहरू कुनै पनि किसिमको भ्रममा नपरी आफ्नो गन्तव्य मुलुक र यात्राको बारेमा पूर्ण रूपमा सुसूचित भई निर्धक्क यात्रा गर्न अध्यागमन विभाग अनुरोध गर्दछ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar