पेट्रोलियम भण्डारण क्षमता : डिजेल १६ र पेट्रोल १४ दिनलाई मात्र पुग्ने

  • कालिका खवर
  • बुधबार, जेष्ठ १३, २०८३
  • काठमाडौँ । नेपालको पेट्रोलियम पदार्थको भण्डारण क्षमतामा केही सुधार देखिए पनि यो अझै पर्याप्त नभएको पाइएको छ । सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार देशभर रहेका नेपाल आयल निगमका डिपोहरूको कुल भण्डारण क्षमता १ लाख २ हजार २ सय ८१ किलोलिटर पुगेको छ ।

    सर्वेक्षणअनुसार हालको भण्डारण क्षमताले माग धान्न सक्ने स्थिति निम्न बमोजिम छ । डिजेल कुल ६०,४२१ किलोलिटर भण्डारण क्षमता छ, जसले देशको मागलाई १६ दिन मात्र धान्न सक्छ ।

    पेट्रोल २८,५४२ किलोलिटर भण्डारण क्षमता छ, जसले १४ दिनको माग धान्छ । हवाई इन्धन ९,१२३ किलोलिटर क्षमताले १७ दिनको माग धान्न सक्छ । मट्टितेल ४,१९५ किलोलिटर क्षमता छ । यसको खपत कम भएकाले यो भण्डारणले १४५ दिनलाई पुग्ने देखिएको छ ।

    नेपालको कुल भण्डारण क्षमताको ठुलो हिस्सा मधेस प्रदेशको अमलेखगन्ज डिपोमा रहेको छ । प्रतिवेदन अनुसार कुल क्षमताको ४३.५ प्रतिशत अमलेखगन्जमा मात्रै सीमित छ । यस्तै, काठमाडौँमा २१.९ प्रतिशत, पोखरामा १३.३ प्रतिशत र विराटनगरमा ९.९ प्रतिशत भण्डारण क्षमता रहेको छ ।

    भण्डारण क्षमतामा प्रादेशिक रूपमा ठुलो खाडल देखिएको छ । प्रतिवेदन अनुसार गण्डकी प्रदेशमा सबैभन्दा बढी ३७ दिनको माग धान्न सक्ने क्षमता छ ।

    कर्णाली प्रदेशमा सबैभन्दा कमजोर अवस्थामा छ । यहाँको भण्डारणले मात्र १ दिनको माग धान्न सक्छ । यस्तै, भैरहवा, नेपालगन्ज र धनगढीमा पनि भण्डारण क्षमता न्यून रहेको सर्वेक्षणले औँल्याएको छ ।

    विद्युतको प्रयोग बढेसँगै मट्टितेल र डिजेलको खपतमा केही कमी आए पनि पेट्रोलको माग भने बढ्दो क्रममा छ । चालु आर्थिक वर्षको फागुनसम्म पेट्रोलको आयात १० प्रतिशत र डिजेलको आयात ९.९ प्रतिशतले घटेको छ ।

    सरकारले ऊर्जा सुरक्षाका लागि पेट्रोलियम पदार्थको भण्डारण क्षमता कम्तीमा ३ महिना (९० दिन) को माग धान्ने गरी विस्तार गर्ने नीति लिएको भए पनि हालको प्रगति हेर्दा अझै ठुलो लगानी र भौतिक पूर्वाधार निर्माणको आवश्यकता देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar