उद्योगको क्षमता उपयोगमा गिरावट, ४६.१७ प्रतिशत क्षमतामा मात्रै सञ्चालन

  • कालिका खवर
  • बिहिबार, कार्तिक २७, २०८२
  • काठमाडौँ । गत आर्थिक बर्ष २०८१–८२ मा मधेश प्रदेशमा सञ्चालित उद्योगको क्षमता उपयोग पनि घटेको देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको मधेश प्रदेशको आर्थिक गतिविधि सम्बन्धी अध्ययन प्रतिवेदन २०८१/८२ ले यस्तो देखाएको हो ।

    अघिल्लो आव २०८०–८१ मा मधेश प्रदेशका उद्योगको क्षमता उपयोग औसतमा ४९.७६ प्रतिशत थियो । गत आवमा भने उद्योगहरू त्यो भन्दा पनि कम अर्थात् औसत ४६.१७ प्रतिशत क्षमतामा सञ्चालन भएको देखिन्छ । राष्ट्र बैंकको अर्को प्रतिवेदनले बागमती प्रदेशका क्षमता उपयोग पनि औसतमा घटेको देखाएको छ । वस्तुको मागमा कमी आएपछि उद्योगहरू कम क्षमतामा सञ्चालनमा आएको जानकारवालाहरु बताउँछन् ।

    ‘आर्थिक वर्ष २०८१/८२ मा मधेश प्रदेशका नमुना छनोटमा समेटिएका उद्योगहरूको क्षमता उपयोग औसतमा ४६.१७ प्रतिशत रहेको छ भने गत वर्षमा यी उद्योगहरुको औसत क्षमता उपयोग ४९.७६ प्रतिशत रहेको थियो,’ प्रतिवेदनमा भनिएको छ ।

    गत आवमा मधेश प्रदेशमा सञ्चालित मदिरा उद्योगले भने सबै भन्दा धेरै क्षमता उपयोग गरेका छन् । प्रतिवेदनअनुसार समीक्षा अवधिमा मदिरा उद्योगले सबैभन्दा बढी ९९.५५ प्रतिशत क्षमता उपयोग गरेको देखिन्छ ।  वनस्पती घिउ उद्योगको क्षमता उपयोग भने सबैभन्दा कम ०.६३ प्रतिशत देखिएको छ । समीक्षा अवधिमा प्लाष्टिकजन्य उद्योग र छाला तथा छालाको सामान उत्पादन गर्ने उद्योगको क्षमता उपयोगमा पनि कमी आएको देखिन्छ ।

    प्रतिवेदनअनुसार समीक्षा अवधिमा वनस्पति घिउ तथा तेल १७.१ प्रतिशत, अन्न तथा पशु दाना ९०.८१ प्रतिशत, अन्य खाद्य पदार्थ ४६.०७ प्रतिशत, पेय पदार्थ ८९.३६ प्रतिशत, सुर्तीजन्य बस्तु ७७.६३ प्रतिशत, लत्ता कपडाको ५९.३५ प्रतिशत, छाला र छालाको सामान ७.३५ प्रतिशत र कागज तथा कागजका समान उद्योग ९.३९ प्रतिशत क्षमतामा सञ्चालन भएका छन् ।

    यस्तै, अन्य रसायनिक पदार्थ ५३.०८ प्रतिशत, प्लाष्टिकजन्य पदार्थ २२.७५ प्रतिशत, गैरधातु खनिजजन्य ४७.६३ प्रतिशत, प्रेबिकेटेड धातुको सामान ६४.९३ प्रतिशत, धातुको उपकरण सम्बन्धी उद्योग १४.३४ प्रतिशत क्षमतामा सञ्चालन भएको प्रतिवेदनमा उल्लेख छ ।

    यस्तै, फलामको छड तथा पत्ति उद्योगको क्षमता उपयोग ४६.३५ प्रतिशत, हल्का पेय पदार्थ उद्योगको क्षमता उपयोग ८८.१२ प्रतिशत, गहुँको पिठो उद्योगको क्षमता उपयोग ७२.५२ प्रतिशत, भटमासको तेल उद्योगको क्षमता उपयोग ४६.५८ प्रतिशत, साबुन उद्योगको क्षमता उपयोग २६.६७ प्रतिशत, आल्मुनियम उत्पादन उद्योगको क्षमता उपयोग ८८.६३ प्रतिशत, केमिकल लिक्वइड पदार्थ उद्योगको क्षमता उपयोग ५७.०८ प्रतिशत, सिमेण्ट उद्योगको क्षमता उपयोग ४७.६३ प्रतिशत, घरेलु धातुका सामान उद्योगको क्षमता उपयोग १४.३४ प्रतिशत रहेको छ ।

    यस्तै, लत्ता कपडा अन्तर्गतको सिन्थेटिक कपडा, अन्न तथा पशु दानाअन्तर्गत पशुदाना, स्टिलजन्य उत्पादन, चामल, धागो, चुरोट, तोरीको तेल, चिनी र ड्राई सिरप उद्योगको क्षमता उपयोग क्रमशः ६२.७४ प्रतिशत, ९६.०९ प्रतिशत, ८२.८३ प्रतिशत, ६६.६७ प्रतिशत, ५२.५० प्रतिशत, ७७.६३ प्रतिशत, ३५.३६ प्रतिशत, ४६.०७ प्रतिशत, र १२.३३ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

    गत वर्षको सोही अवधिमा मधेश प्रदेशका प्रमुख उद्योगहरूमा सिमेन्ट उद्योगको क्षमता उपयोग ३७.६९ प्रतिशत, फलामको छड तथा फलामको पत्ति उद्योगको क्षमता उपयोग ४१.२५ प्रतिशत, साबुन उद्योगको क्षमता उपयोग २९.९१ प्रतिशत, वनस्पति घिउ तथा तेल उद्योगको क्षमता उपयोग ७.५१ प्रतिशत, अन्न तथा पशुदाना उद्योगको क्षमता उपयोग ६८.८७ प्रतिशत, चुरोट उद्योगको क्षमता उपयोग ८७.४४ प्रतिशत रहेको थियो । यस्तै, चिनी र ड्राई सिरप उद्योगको क्षमता उपयोग क्रमशः ४६.७७ प्रतिशत, र ७।३३ प्रतिशत रहेको थियो ।

    समीक्षा बर्षमा मधेश प्रदेशमा औद्योगिक क्षेत्रतर्फ प्रवाह भएको कुल कर्जा ५.११ प्रतिशतले वृद्धि भई एक खर्ब २८ अर्ब ९ करोड पुगेको छ । अघिल्लो आवमा यस्तो कर्जा एक खर्ब २१ अर्ब ८७ करोड रहेको थियो ।

    समीक्षा अवधिमा मधेश प्रदेशमा औद्योगिक क्षेत्रमा प्रवाहित कर्जामध्ये सबैभन्दा बढी कर्जा पर्सा जिल्लामा ६३.७९ प्रतिशत र सबैभन्दा कम सप्तरी जिल्लामा २.१२ प्रतिशत रहेको छ । मधेश प्रदेशमा सबैभन्दा धेरै उद्योगहरू पर्सा जिल्लामा रहेकोले सबैभन्दा बढी औद्योगिक कर्जा प्रवाह सोही जिल्लामा भएको देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar