ट्राफिक व्यवस्थापनमा नाडा–ट्राफिक प्रहरी सहकार्य विस्तार गर्ने सहमति, एआई ट्राफिक लाइट र चालक प्रशिक्षणमा जोड

  • कालिका खवर
  • सोमवार, असार १, २०८३
  • काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष सुरेन्द्रकुमार उप्रेती नेतृत्वको प्रतिनिधिमण्डलले उपत्यका ट्राफिक प्रहरी कार्यालयका नवनियुक्त प्रमुख सुरेशप्रसाद काफ्लेसँग भेट गरी काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनमा देखिएका विभिन्न समस्या तथा समाधानका उपायबारे विस्तृत छलफल गरेको छ।

    भेटका क्रममा प्रमुख काफ्लेले उपत्यका ट्राफिक प्रहरी कार्यालय र नाडाबीच सिर्जनात्मक तथा दीर्घकालीन उद्देश्यका विषयमा सहकार्य गर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याए। उनले पहाडी क्षेत्रमा सञ्चालनका लागि उपयुक्त ठूला सिसी क्षमताका मोटरसाइकलहरू समेत काठमाडौं शहरभित्र सञ्चालन भइरहेकोप्रति ध्यानाकर्षण गराउँदै मोटरसाइकलको तुलनामा स्कुटरको दुर्घटना दर कम हुने तथ्य उल्लेख गरे।

    काफ्लेले राजधानीमा ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न नाडाले सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिँदै एआई (कृत्रिम बुद्धिमत्ता) प्रविधियुक्त ट्राफिक लाइट व्यवस्थापन प्रणाली कार्यान्वयनका लागि समेत पहल गर्न आग्रह गरे।

    त्यसैगरी, सवारी साधन खरिद गर्ने हरेक ग्राहक, सर्भिस सेन्टरका कर्मचारी तथा पहिलो पटक सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्राप्त गर्ने व्यक्तिहरूले उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट करिब एक घण्टाको छोटो ट्राफिक प्रशिक्षण लिनुपर्ने व्यवस्था गर्न सुझाव दिँदै यसबाट ट्राफिक व्यवस्थापनमा उल्लेखनीय सुधार आउने विश्वास व्यक्त गरे।

    छलफलका क्रममा नाडाका अध्यक्ष उप्रेतीले विगतदेखि उपत्यका ट्राफिक प्रहरी कार्यालयसँग हुँदै आएको सहकार्यको स्मरण गर्दै आगामी ५०औँ वार्षिक साधारण सभा तथा स्वर्ण उत्सव अन्तर्गत आयोजना गरिने विशेष सप्ताहव्यापी कार्यक्रमबारे जानकारी गराए।

    उनले नाडाले २०८३ असार १३ गतेदेखि १९ गतेसम्म राजधानीमा विविध कार्यक्रमसहित स्वर्ण उत्सव मनाउने तयारी गरिरहेको उल्लेख गर्दै कार्यक्रमलाई थप भव्य, व्यवस्थित र प्रभावकारी बनाउन उपत्यका ट्राफिक प्रहरी कार्यालयको सहयोग आवश्यक रहने बताए। साथै, ट्राफिक जनचेतना अभिवृद्धिका लागि स्टिकर अभियानमार्फत सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने जानकारी पनि दिए।

    यसैगरी, नाडाका महासचिव मिलनबाबु मल्लले ट्राफिक प्रहरी कार्यालयसँग विगतदेखि सहकार्य गर्दै आएको स्मरण गराउँदै आगामी दिनमा पनि संयुक्त रूपमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

    छलफलमा नाडाका उपाध्यक्ष विक्रम सिंहानिया, सचिव मेघराज पौडेल तथा कोषाध्यक्ष पंकज अग्रवाल लगायतले पनि ट्राफिक व्यवस्थापन सुधार, सडक सुरक्षाको प्रवर्द्धन तथा जनचेतना अभिवृद्धिका विषयमा आफ्ना धारणा राखेका थिए।

    उक्त भेटघाटलाई काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी, प्रविधिमैत्री र जनउत्तरदायी बनाउने दिशामा सरकारी निकाय र निजी क्षेत्रबीचको सहकार्य सुदृढ गर्ने महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar