सवारी साधनलाई विलासी वस्तुका रूपमा हेर्न हुँदैन : नाडा अध्यक्ष उप्रेती

  • कालिका खवर
  • मङ्लबार, भदौ ९, २०८३
  • काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले सवारी साधनलाई विलासी वस्तुका रूपमा हेर्न नहुने बताएका छन्।

    काठमाडौंको भृकुटीमण्डपमा आजदेखि सुरु भएको १८औँ नाडा अटो शो २०२६ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष उप्रेतीले बदलिँदो समय र नागरिकको आवश्यकताअनुसार सवारी साधनसम्बन्धी नीति तथा कर प्रणालीलाई व्यावहारिक बनाउनुपर्ने बताए।

    उनले नेपालमै एसेम्बल भइरहेका सवारी साधनको प्रवर्द्धन र विकासका लागि सरकारले विशेष सहयोग गर्नुपर्नेमा जोड दिए। स्वदेशमा सवारी साधन एसेम्बल तथा उत्पादनको वातावरण निर्माण गर्न नीतिगत सहजीकरण आवश्यक रहेको उनको भनाइ थियो।

    अध्यक्ष उप्रेतीले देशमा नीतिगत स्थिरता कायम गर्न सरकारसँग आग्रह गर्दै अटो व्यवसायीहरू सरकारका प्रतिस्पर्धी नभई सहयात्री र सहयोगी रहेको स्पष्ट पारे। दीर्घकालीन लगानी र व्यवसाय विस्तारका लागि स्थिर तथा लगानीमैत्री नीति आवश्यक रहेको उनले बताए।

    भदौ १४ गतेसम्म सञ्चालन हुने नाडा अटो शोमा २०० भन्दा बढी स्टल रहेका छन्। प्रदर्शनीमा यात्रुवाहक सवारीसाधनका २३, हल्का व्यावसायिक सवारीसाधनका १७ र दुईपाङ्ग्रे सवारीसाधनका १३ गरी ५३ वटा सवारी ब्रान्ड सहभागी भएका छन्।

    नाडा अटो शोमा विभिन्न विद्युतीय तथा पेट्रोलियम सवारीसाधन, दुईपाङ्ग्रे, व्यावसायिक सवारीसाधन, स्पेयर पार्ट्स, टायर, ब्याट्री, चार्जिङ उपकरण तथा अटोमोबाइलसम्बन्धी प्रविधि र सेवाहरू प्रदर्शनमा राखिएका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar