सुदन गुरुङले महेश बस्नेतलाई झुट नफैलाउन दिए चेतावनी

  • कालिका खवर
  • शनिबार, अशोज ४, २०८२
  • काठमाडौँ । जेनजी आन्दोलनको अगुवाको परिचय बनाएका सुदन गुरुङले एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट नेता महेश बस्नेतले आफूसँग संवाद गरेको र आफ्नो पार्टीमा प्रवेश गर्न इच्छुक भएको भनेर गरेको दाबी निराधार भएको बताएका छन्।

    उनको संस्था हामी नेपालले आज (शनिबार) विज्ञप्ति जारी गरी त्यस्ता भ्रमपूर्ण अभिव्यक्तिलाई विश्वास नगर्न आग्रह गरेको हो।

    वक्तव्यमा भनिएको छ, ‘सुदन गुरुङले कहिल्यै महेश बस्नेतसँग कुरा गरेका छैनन्। यस्तो संवाद कहिल्यै भएको छैन र कहिल्यै हुने पनि छैन। हामी उनलाई चिन्दैनौँ, सम्मान गर्दैनौँ।’

    सुदनले वक्तव्यमार्फत महेशलाई भनेका छन्, ‘झुट नफैलाउनू। संविधानले तपाईंलाई संरक्षण दिएको छ भन्ने अर्थ यो होइन कि तपाईं नैतिक रूपमा पनि सुरक्षित हुनुहुन्छ। इतिहासले र जनताले तपाईंलाई जिम्मेवार ठहर गर्नेछन्।’

    सुदनले आफ्ना समर्थकलाई सचेत रहन आग्रह पनि गरेका छन्।

    ‘यी बनावटी दाबीबाट भ्रमित नहुनुहोस्। सतर्क रहनुहोस्, एकताबद्ध रहनुहोस्। सुदन गुरुङ र हामी नेपाल सुरुदेखि नै जनताको पक्षमा उभिएका छौँ र सधैँ उभिनेछौँ। यो आन्दोलन जनताको हो, भ्रष्ट राजनीतिका लागि होइन।’

    महेशका क्रियाकलापलाई वक्तव्यमा फोहोरी खेल, निर्लज्ज प्रयास र जनताप्रतिको धोका भनेर आरोप लगाइएको छ।

    ‘हामी महेश बस्नेतलाई अस्वीकार गर्छौं। उनले गर्ने प्रत्येक झुट, प्रत्येक प्रपञ्च, प्रत्येक भ्रामक दाबीलाई हामी अस्वीकार गर्छौं। हामी उनको राजनीति, उनका फोहोरी खेल र जनतालाई धोका दिन खोज्ने निर्लज्ज प्रयासलाई अस्वीकार गर्छौं’, विज्ञप्तिमा भनिएको छ।

    सुदनले आफू सधैँ यो आन्दोलन र जनताका पक्षमा रहने प्रतिबद्धता जनाउँदै राजनीतिक खेलमा सहभागी नहुने उल्लेख गरेका छन्।

    यसबीच सुदनले एमालेका पोलिटब्युरो सदस्य बस्नेतले आफूलाई पछ्याइरहेको आशंका गरेका थिए भने बस्नेतले चाहिँ उनी आफ्नो पार्टीमा आए अचम्म नमान्नु भनेर सार्वजनिक अभिव्यक्ति दिएका थिए।

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar