सरकारका गतिविधि सङ्घीयता, धर्मनिरपेक्षता र गणतन्त्र कमजोर बनाउनेतर्फ उन्मुख : आङ्देम्बे

  • कालिका खवर
  • आइतवार, साउन २४, २०८३
  • काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारका पछिल्ला गतिविधि र अभिव्यक्तिप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।

    ३२ औँ विश्व आदिवासी दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै आङ्देम्बेले सरकारका पछिल्ला गतिविधि सङ्घीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने दिशातर्फ उन्मुख भएको महसुस हुन थालेको बताएका हुन्।

    उनले भनेका छन्, ‘सरकारका पछिल्ला गतिविधि र अभिव्यक्तिहरू सङ्घीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनेभन्दा कमजोर बनाउने दिशातर्फ त उन्मुख छैनन् भन्ने महसुस हुन थालेको छ।’

    आङ्देम्बेले संविधानले सुनिश्चित गरेका राजनीतिक उपलब्धि कुनै दल वा सरकारको दया र कृपाबाट प्राप्त नभएको बताएका छन्। उनका अनुसार सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता, सामाजिक न्याय तथा पहिचान र सांस्कृतिक अधिकार नेपाली जनताको लामो संघर्ष, त्याग र बलिदानबाट प्राप्त उपलब्धि हुन्।

    उनले संघीयतालाई बोझका रूपमा चित्रित गर्ने, प्रदेश संरचनामाथि प्रश्न उठाउने तथा समानुपातिक प्रतिनिधित्व कमजोर बनाउने बहसप्रति पनि असन्तुष्टि जनाएका छन्।

    ‘कमजोरी छन् भने सुधार गरौँ। समस्या छन् भने समाधान गरौँ। तर जनताको संघर्षबाट प्राप्त उपलब्धि नै मास्ने कुरा स्वीकार्य हुन सक्दैन,’ आङ्देम्बेले भनेका छन्।

    आदिवासी जनजातिको पहिचान, भाषा, संस्कृति र अधिकार व्यवहारमै सुनिश्चित हुनुपर्ने उनको भनाइ छ। राज्यका सबै तहमा न्यायपूर्ण प्रतिनिधित्व र पहिचानसहितको सङ्घीयता संस्थागत गर्नुपर्ने उनले बताएका छन्।

    आङ्देम्बेले विश्व आदिवासी दिवसले समावेशी, समान र न्यायपूर्ण नेपाल निर्माणको संकल्पलाई थप बलियो बनाउने विश्वास व्यक्त गर्दै सम्पूर्ण आदिवासी जनजाति समुदायमा शुभकामना दिएका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar