सिद्धार्थ बैंकको नाफा १५.१७ प्रतिशतले घट्यो

  • कालिका खवर
  • शुक्रबार, कार्तिक २१, २०८२
  • काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको नाफा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा दोहोरो अंकले घटेको छ। बैंकले असोज मसान्तसम्म ३२ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ।

    बैंकले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण अनुसार, समीक्षा अवधिमा बैंकको खुद नाफा १५.१७ प्रतिशतले घटेको हो।

    गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३८ करोड २० लाख ८४ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो।

    यस अवधिमा बैंकको सञ्चालन मुनाफा पनि घटेको छ। गत वर्षको असोज मसान्तसम्म ५३ करोड ९५ लाख रुपैयाँ रहेको सञ्चालन मुनाफा यस वर्ष घटेर करिब ५० करोड रुपैयाँमा खुम्चिएको छ।

    त्यस्तै, बैंकको प्रतिशेयर आम्दानी (EPS) गत वर्षको १० रुपैयाँ ६४ पैसा बाट घटेर ९ रुपैयाँ ३ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ २१८ रुपैयाँ ०५ पैसा कायम भएको छ।

    यद्यपि, बैंकको खुद ब्याज आम्दानीमा भने सामान्य सुधार देखिएको छ। असोज मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी २ अर्ब १६ करोड २५ लाख रुपैयाँ पुगेको छ।

    समीक्षा अवधिमा बैंकको खराब कर्जा (NPL) मा पनि सुधार देखिएको छ। गत वर्षको सोही अवधिमा ३.९१ प्रतिशत रहेकाे खराब कर्जा यस वर्ष घटेर ३.८० प्रतिशत पुगेको छ।

    सिद्धार्थ बैंकको चुक्ता पूँजी १४ अर्ब ८ करोड रुपैयाँ रहेको छ। बैंकको जगेडा कोष गत वर्षको १ अर्ब ८३ करोड ७८ लाख रुपैयाँबाट घटेर १ अर्ब ६१ करोड रुपैयाँमा झरेको वित्तीय विवरणमा उल्लेख छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar