सडकछेउको नाच, एमालेको जनमोह

ऋषिराम  सुबेदी, स्याङ्जा
ऋषिराम सुबेदी, स्याङ्जा
  • मङ्लबार, फाल्गुन १९, २०८२
  • म स्याङ्जाको एक कार्यक्रममा सहभागिता जनाएर पोखरा फर्किँदै थिएँ। आकाशको पश्चिम कुनाबाट सूर्य बिस्तारै ओर्लिँदै थियो, अस्ताउँदै गरेको घामको किरणले आकाशलाई हल्का राताम्य बनाएको थियो।हिमाली शृङ्खला र डाँडाहरूले आफ्ना छायाँहरू लम्ब्याउँदै दिनको अन्तिम विदाइलाई स्वीकार गरिरहेका थिए। चराचरीहरू आफ्ना गुँडतर्फ फर्किरहेका थिए, गाउँका छाना र खेतका बालीहरू सुनौलो किरणले झलमल्ल पार्दै थिए, अनि फुस्रेखोलाको पानीले त्यो उज्यालोलाई अंगाल्दै, सुन्दर रिफ्लेक्सन दिदै कलकल बगिरहेको थियो।त्यो साँझ केवल समयको एउटा क्षण मात्र थिएन, त्यो अनुभूतिको एउटा सजीव चित्र थियो, जहाँ थकाइ पनि मधुर थियो र एकान्त आत्मीय।

    मुक्ती गुरुङ दम्पती र नाच
    फुस्रेखोला तल आफ्नै शान्त लयमा बगिरहेको थियो। पानीको त्यो धुनमा एउटा अनौठो स्थिरता थियो—जसले यात्रालाई केवल गन्तव्यतर्फको गति नभई आत्मतर्फको मोड बनाइरहेको थियो।
    मेरो बाइकका चक्का मोडमोडमा घुम्दै थिए, तर मेरो मन यात्राभन्दा गहिरो यात्रामा निस्किएको थियो। आजको यात्रा केवल भौगोलिक थिएन। त्यो बौद्धिक यात्रा थियो, आध्यात्मिकता सहितको भावनात्मक यात्रा थियो। स्याङ्जाबाट फर्किने क्रममा मेरो बाइकको पछाडि बस्नुभएको थियो, डा. राजेन्द्र चापागाई। त्यो यात्रामा उहाले साहित्यिक, दार्सनिक र राजमितिक बिचारहरु सुनाउनु भयो। म उहाको ज्ञान र अनुभव बाट प्रभावित भए। जन्मले स्याङ्जा, कर्मले पोखरा, बसाइले काठमाण्डौ रहनु हुने गुरु चापागाई कवि, निबन्धकार, गजलकार, चिन्तक, राजनितिक बिष्लेषक अनि त्यो भन्दा बढी लाखौ बिध्यार्थिका गुरु हुनुहुन्छ।

    स्याङ्जा–पोखराको त्यो यात्रामा उहाँसँग भएको संवाद मेरो जीवनकै एउटा निर्णायक मोड थियो।चापागाई गुरुले म भित्र, “म को हुँ?” भन्ने प्रश्न जगाइदिनुभयो । विश्वविद्यालयले मलाई डिग्री दियो, प्रमाणपत्र दियो, पाठ्यक्रम दियो तर जीवनले सोध्ने प्रश्नहरूको उत्तर दिएन। मैले जीवन भोगेँ, संघर्ष गरेँ, सम्बन्धहरू बाँधेँ र भत्काएँ, राजनीति देखेँ, आन्दोलन देखेँ—तर “म” को अर्थ बुझ्न सकेको थिइनँ। उहाँसँग कुरा गर्दै मैले पहिलो पटक आफूलाई गहिरो गरी सोधेँ—“म को हुँ? मेरो जन्मको अर्थ के हो? म जिउनुको उद्देश्य के हो?” यी प्रश्नहरू किताबमा पढिएका थिए होला , तर आज मेरो अन्तरमनमा गहिरिए।

    गुरुका भनाइहरू पोखरा पि.एन. क्याम्पसका औपचारिक लेक्चर थिएनन् बरु थिए अनुभूतिहरु, जीवन भोगाइका हस्ताक्षरहरु। उहाँको विचार केवल तर्क थिएन; त्यो साधना थियो। उहाँप्रति मेरो श्रद्धा गुरुको सम्मान भन्दा माथि छ। याय्रा संगै गहिरो संवादको निरन्तरतामा हामी खाँडेखोला पुगेका थियौँ। साँझ बाक्लिँदै थियो। मैले चिया पिउन रोकिने प्रस्ताव राखेँ। गुरुज्यूले मुस्कुराउँदै स्वीकृति दिनुभयो र भन्नुभयो “जीवन आफैमा एक यात्रा हो, आमाको गर्भदेखी शुरु भएर घाटमा पुगेर लामो विश्राम लिने” । हामी रोकियौ—खाँडेखोलामा।
    खाँडेखोलाको दृश्य:- एक साधारण पसल। सामान्य काठका बेन्च, टेबल। त्यहाँ थिए—पसले मुक्ति गुरुङ र उनकी श्रीमती। साधारण चिया पसल व्यवसायी।

    हामीले चिया अर्डर गर्‍यौँ। प्रतिक्षामा थियौँ।
    त्यही बेला कतै अलिक टाढा अचानक माइकमा एक गीत बज्यो— “सै पनि एमाले, मै पनि एमाले…”
    त्यो गीतको धुनले माहोल बदलिदियो। सडकछेउको सानो चिया पसलका मालिक मुक्ति गुरुङ र उनकी श्रीमती सो गीतको संगीतमा स्वस्फूर्त नाच्न थाले।
    न कुनै दर्शकका लागि, न कुनै नेताका लागि, न कुनै चुनावी प्रचारका लागि। केवल आफ्नो पार्टीप्रतिको विश्वासका लागि। त्यो नाच अभिनय थिएन, त्यो स्वार्थ थिएन। त्यो आत्माको अभिव्यक्ति थियो। म भावुक भएँ। सायद गहिरो बौद्धिकता र भूराजनितिका अध्येता मेरा गुरु डा. चापागाई पनि।

    दुई तहको आस्था
    हाम्रो अगाडि नाचिरहेका थिए—साधारण होटल व्यवसायी मुक्ति गुरुङ दम्पती। दुवै जना एउटै राजनीतिक धारप्रति आस्थावान। एकातर्फ मुक्ती दम्पतिको एमाले पार्टी प्रतिको आस्था दर्शन, चिन्तन र वैचारिक गहिराई, अर्को तर्फ एमाले पार्टी प्रतिको बिस्वास, माया र संलग्नताको सापट प्रतिबिम्ब थिए।

    नेकपा (एमाले) को जनाधार केवल राजनीतिक संरचना होइन, त्यो भावनात्मक र बौद्धिक दुबै तहमा फैलिएको छ। यो जनाधार नारामा होइन, जनजनको हृदयमा, अनुभूतिमा बसेको छ। सहरमा मानिस संगै बिचार छिरलिन्छन तर गाउँ क्षेत्रहरुमा बिचारहरु जमेर बस्छन।
    मुक्ती गुरुङ दम्पतिको यो नाचले पार्टी प्रतिको अगाध प्रेम, बिस्वास र समर्पणको प्रतिबिम्ब थियो।

    गुरुङ दम्पतिको यो समर्थन कुनै निजि स्वार्थको अवसरका लागि होइन, उनी भन्छ्न “देस बानाउने पार्टी एमाले हो, देस बिकास एमाले पार्टिले गर्छ सायद अरु पार्टिले एमालेको बिकास गति समाउन सक्दैन, त्यसैले मै पनि एमाले, सै पनि एमाले” ।

    तर त्यही क्षण सँगै मेरो मन चसक्क भयो। के एमाले पार्टीले मुक्ति गुरुङ दम्पतीजस्ता भुइँमान्छेको हृदयमा बसेको पार्टी प्रेमको खोजी कहिले कसरी गर्ला? जुन मुक्ति दम्पती चिया बेच्न छोडेर गीत सुन्दा ग्राहक बिर्सिन्छन् र एमाले गीतमा एक्लै नाच्छन्। तर उनिहरु पार्टीसँग आफ्ना लागि केही माग्दैनन् किनकी उनीहरूको एउटै विश्वास छ—
    “देश विकास गर्ने पार्टी एमाले हो।” जनजनमा
    यो विश्वास जन्मिएको छ।तर यो विश्वास जोगाउने जिम्मेवारी कसको? नेतृत्व वरिपरि घुम्ने भजन मण्डलीले सायद वास्तविक रत्न र जनाधार दुवैलाई नेतृत्वको नजर पर्न दिँदैन।अजेय जनाधार, एमालेको जनाधार अतुलनीय बलियो छ, जुन सडक छेउको चियापसलमा छर्लङ्ग देखिन्छ। अनि किसानको खेतमा छ, मजदुरको पसिनामा छ। तर नेतृत्वले यी दुवै—बौद्धिक र भुइँमान्छे—लाई एउटै सूत्रमा गाँस्न सकेन भने, पार्टीप्रतिको मौजुदा जनविश्वास खस्किन सक्छ।
    डा. चापागाईजस्ता बुद्धिजीवीहरू र मुक्ति गुरुङजस्ता भुइँमान्छेहरू एउटै धागोमा बाँधिन सके भने, त्यो धागो अजेय हुनेछ। तर त्यो धागो गाँस्ने जिम्मेवारी नेतृत्वकै हो।

    चिया सकियो। हामी बाइकमा फेरि चढ्यौँ।
    फुस्रेखोला अँध्यारोमा हराउँदै थिई। बाइक आफ्नै रफ्तारमा गुडिरहेको थियो। तर मेरो मनमा दुईवटा चित्र स्थिर थिए— एक, गुरु जसले मलाई “म को हुँ?” भन्ने प्रश्न सोध्न सिकाउनुभयो। दोस्रो, मुक्ति गुरुङ दम्पती जसले “हामी एमाले पार्टीलाई अत्यन्त प्रेम र विश्वास गर्छौँ” भन्ने उत्तर नाचेर दिनुभयो। खाँडेखोलाको त्यो साँझले मलाई सिकायो— राजनीति केवल सत्ता होइन; त्यो चेतना र विश्वासको संगम हो। एमालेको जनाधार अजेय छ।

    तर त्यो अजेयता जोगाउने जिम्मेवारी नेतृत्वकै हो।
    म आज पनि सोचिरहेछु— नेतृत्वले खै कहिले विद्वान् र मुक्ति दम्पतीलाई खोज्ला वा बुझ्ला?
    यो प्रश्न अझै अनुत्तरित छ।
    सायद आगामी निर्वाचनको परिणामले यसको उत्तर दिने नैतिक बल राख्नेछ! समयले यि प्रश्नलाई अनुत्तरित खाममा बिगतमा जस्तै बन्द गरि राख्ने छैन।आशा र प्रतिक्षाको सानो दीप जलाएर, यो नियात्रा यतिमै बिट मार्ने अनुमति चाहन्छु।
    — कटिबद्ध वैचारिक भुइँमान्छे- सुवेदी

    लेखकको बारेमा

    ऋषिराम  सुबेदी, स्याङ्जा

    ऋषिराम सुबेदी, स्याङ्जा

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar