सानिमा रिलायन्स लाइफद्वारा समता एजुकेशन फाउन्डेशनलाई ५ लाख सहयोग

  • कालिका खवर
  • शुक्रबार, कार्तिक २८, २०८२
  • काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत समता एजुकेशन फाउन्डेशनलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ। आर्थिक रूपमा कमजोर तथा दुर्गम क्षेत्रका बालबालिकालाई सहज र गुणस्तरीय शिक्षा उपलब्ध गराउँदै आएको समता फाउन्डेशनलाई यस सहयोगले शैक्षिक पहुँच विस्तारमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ।

    समता एजुकेशन फाउन्डेशन “शिक्षा सबैका लागि” भन्ने नारा अनुरूप देशका विभिन्न जिल्लामा समता विद्यालयमार्फत अत्यन्त न्यून शुल्क—रु १०० मासिक—मा शिक्षा प्रदान गर्दै आएको छ। हाल हजारौँ विद्यार्थीहरू समता विद्यालयमार्फत विद्यालय शिक्षामा सहभागी छन्।

    सानिमा रिलायन्स लाइफबाट प्राप्त ५ लाख रुपैयाँ फाउन्डेशनले विपन्न तथा जेहेन्दार विद्यार्थीहरूका लागि शैक्षिक सामग्री खरिद, विद्यालयको भौतिक संरचना सुधार तथा शैक्षिक गुणस्तर वृद्धि जस्ता कार्यमा उपयोग गर्नेछ। फाउन्डेशनले यस समर्थनले कठिनाइमा परेका बालबालिकाका लागि निरन्तर अध्ययनको सहजता सुनिश्चित गर्ने विश्वास व्यक्त गरेको छ।

    कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत आगामी दिनहरूमा पनि शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता र विपद् व्यवस्थापन जस्ता क्षेत्रमा निरन्तर सहयोग बढाउँदै लैजान प्रतिबद्धता जनाएको छ। सानिमा रिलायन्सका अनुसार सामाजिक हित र साझा विकासलाई नाफामुखी व्यवसायसँगै अघि बढाउनु कम्पनीको दीर्घकालीन दृष्टि हो।

    हाल सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले देशभर १६९ शाखा सञ्जाल, ५ अर्बभन्दा बढी चुक्ता पूँजी, २० अर्बभन्दा बढी लगानी, तथा २० हजारभन्दा बढी अभिकर्ता मार्फत बीमा सेवा प्रवाह गर्दै आएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar