स्याङ्जामा जिप दुर्घटना, ११ जना घाइते

  • कालिका खवर
  • मङ्लबार, चैत्र २४, २०८२
  • काठमाडौं : स्याङ्जाको विरुवा गाउँपालिकामा जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार आइतबार साँझ विरुवा गाउँपालिका–४ मडकिनास्थित घुम्ति–विरुवा भित्री सडक खण्डमा घुम्तिबाट विरुवातर्फ जाँदै गरेको ग १ ज ७०८४ नम्बरको जिप दुर्घटना भएको हो ।

    जिप अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा चालकसहित जिपमा सवार १५ जनामध्ये ११ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि प्रदेश अस्पताल पुतलीबजार, स्याङ्जा पठाइएको प्रहरीले जनाएको छ।

    घाइते हुनेहरूमा ८ वर्षीया एन्जल नेपाली, ५० वर्षीय मानसिंह गुरुङ, ५९ वर्षीया दालमाया गुरुङ, ६० वर्षीया विष्णुमाया गुरुङ, ५६ वर्षीया सीता वाग्ले, ५७ वर्षीया चन्द्र सुब्बा गुरुङ, ६५ वर्षीया रेमकुमारी बस्याल, १३ वर्षीय कृष्चल दर्जी, ३३ वर्षीया शर्मिला नेपाली, उनका साढे २ वर्षका छोरा कृष्ण नेपाली र ६० वर्षीया बिमला गुरुङ रहेका छन् । उनीहरू विभिन्न भागमा घाइते भएका छन् ।

    दुर्घटनापछि प्रहरी निरीक्षकको नेतृत्वमा १६ जनाको टोली घटनास्थलमा खटिएको थियो। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar