राष्ट्रिय सभाका ४ समितिका सभापति निर्विरोध निर्वाचित

  • कालिका खवर
  • बुधबार, चैत्र २५, २०८२
  • काठमाडौँ : राष्ट्रिय सभा अन्तर्गत ४ वटा समितिमा सभापति निर्विरोध चयन भएका छन् । सङ्घीय संसद् सचिवालयले प्रत्येक समितिका सभापतिका लागि उम्मेदवारी दर्ता गर्ने समय तोकेको थियो। तोकिएको समयमा हरेक समितिमा एक जनाको मात्रै उम्मेदवारी परेकोले सबै समितिका सभापति निर्विरोध निर्वाचित भएका हुन् ।

    राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टी नेपालले समितिका सभापति र उपसभापतिमा दलगत भागबण्डा गरेका थिए। भागबण्डाअनुसार, एमालेले उपसभापति पाएको थियो। उपसभापतिमा एमाले सांसद लीला भण्डारी निर्विरोध निर्वाचित भएकी छन् र उनले पद तथा गोपनीयताको शपथ लिएर पदभार ग्रहण गरिसकेकी छिन्।

    कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टी नेपालबीच सहमतिअनुसार सभापतिमा १/१ उम्मेदवार मात्र रहेका छन् । कांग्रेसतर्फ विकास, आर्थिक मामिला तथा सुशासन समिति सभापतिमा कृष्णप्रसाद पौडेल र विधायन व्यवस्थापन समिति सभापतिमा कृष्णबहादुर रोकाय निर्विरोध निर्वाचित भएका छन् । दुवै समितिमा मंगलबार एकै जना उम्मेदवार दर्ता भएका थिए। पौडेल कांग्रेस केन्द्रीय कार्यालयका निवर्तमान मुख्यसचिव हुन् भने रोकाय राष्ट्रिय सभामा प्रमुख सचेतक थिए ।

    सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा पूजा चौधरी निर्विरोध निर्वाचित भएकी छन्। उनी जनता समाजवादी पार्टी नेपालकी सांसद हुन्। सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सभापतिमा जयन्तीदेवी राई निर्वाचित भएकी छन्। उनी नेपाली कम्युनिस्ट पार्टीकी सांसद हुन्।

    राष्ट्रिय सभामा कांग्रेसका २४, नेपाली कम्युनिस्ट पार्टीका १७, नेकपा एमालेका १० र जनता समाजवादी पार्टी नेपालका ३ सांसद छन्। त्यस्तै राष्ट्रिय जनमोर्चाका १ र सरकारको सिफारिसमा २ जना सांसद मनोनित छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar