राजनीतिक दल कहिल्यै नयाँ वा पुरानो भन्ने हुँदैन : डा. राजन भट्टराई

  • कालिका खवर
  • शनिबार, माघ १७, २०८२
  • काठमाडौं । नेकपा (एमाले)का सचिव तथा काठमाडौं क्षेत्र नं. ४ का उम्मेदवार डा. राजन भट्टराईले चुनावका बेला नयाँ र पुराना दलको नाममा जनतालाई अल्मल्याउने प्रयास भइरहेको टिप्पणी गरेका छन् ।

    शनिबार नेकपा (एमाले)को ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित प्रतिनिधिसभा निर्वाचन केन्द्रित कार्यकर्ता भेलामा बोल्दै भट्टराईले राजनीतिक दल कहिल्यै नयाँ वा पुरानो नहुने तर्क गरेका हुन् ।

    ‘हामी यो चुनावको कुरा गरिरहँदा केही शक्तिहरू विभिन्न नारा बोकेर भ्रम छर्ने प्रयास गरिरहेका छन्,’ भट्टराईले भने, ‘दल नयाँ र पुराना हुँदैनन् । राजनीतिक दल कहिल्यै नयाँ र पुरानो हुँदैन ।’

    नेता भट्टराईले अन्तर्राष्ट्रिय उदाहरण प्रस्तुत गर्दै अमेरिका, बेलायत र थाइल्याण्डजस्ता मुलुकमा सयौँ वर्षदेखि एउटै दलहरूले शासन गर्दै आएको उल्लेख गरे ।

    ‘अमेरिकामा २५० वर्षभन्दा बढी समयदेखि रिपब्लिकन र डेमोक्रेटले शासन गरिरहेका छन्, बेलायत र थाइल्याण्डमा पनि सयौं वर्ष पुराना दलहरू सत्तामा छन्,’ उनले भने । नेपालमा भने नयाँ र पुराना दल भन्दै जनतालाई भ्रममा पार्ने दुष्प्रयास भइरहेको भन्दै त्यसबारे गम्भीर छलफल आवश्यक रहेको उनको भनाइ थियो ।

    उनले भने, ‘राजनीतिक दल त्यतिबेला पुरानो ठहरिन्छ, जतिबेला उसले बोकेको विचार असान्दर्भिक हुन्छ र कार्यक्रम जनताको हितमा हुँदैन ।’

    नेता भट्टराईले विचार र कार्यक्रम सान्दर्भिक भए दल सधैं नयाँ रहने उल्लेख गर्दै कार्यकर्तालाई जनतामाझ सही सन्देश पुर्‍याउन आग्रह गरे ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar