पर्सा–१ मा भट्टराईको सन्देश : ‘प्रदीपलाई जिताउनुस्, मन्त्री बनाउँछौँ’

  • कालिका खवर
  • शुक्रबार, माघ २३, २०८२
  • वीरगंज — पर्सा निर्वाचन क्षेत्र नम्बर–१ अन्तर्गत वीरगंज महानगरपालिका वडा नम्बर–१२ श्रीपुरमा नेकपा एमालेका प्रतिनिधिसभा उम्मेदवार प्रदीप यादवको सम्पर्क कार्यालय स्थापना गरी सञ्चालनमा ल्याइएको छ। उक्त कार्यालयको उद्घाटन बिहीबार नेकपा एमालेका उपमहासचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले गरेका हुन्।

    उद्घाटन कार्यक्रममा भट्टराईसँगै उम्मेदवार यादवको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा सम्बोधन गर्दै भट्टराईले फागुन २१ गते हुने निर्वाचनपछि देशमा एमाले नेतृत्वकै सरकार बन्ने दाबी गरे। उनले सो सरकारमा प्रदीप यादवलाई महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिइने बताउँदै पर्सा–१ का मतदातालाई अत्यधिक मतका साथ विजयी गराउन आग्रह गरे।

    यादव जनतामाझ सक्रिय, कर्मठ र लोकप्रिय नेता भएको उल्लेख गर्दै भट्टराईले यस्ता नेतालाई प्रतिनिधिसभामा पठाउनुपर्ने आवश्यकता औंल्याए। उनले यादव पर्सा–१ को विकासका लागि निर्णायक भूमिका खेल्न सक्ने नेता भएको दाबी गरे।

    यसैगरी, उम्मेदवार प्रदीप यादवले संविधान संकटमा परेको अवस्थामा त्यसको रक्षा गर्न एमाले रोजेको बताए। “संविधान जोगिए मात्रै मधेसका मुद्दा सुरक्षित रहन्छन्,” उनले भने, “संविधान र मधेसको अधिकार जोगाउन एमालेसँगै अघि बढेको हुँ।”

    भट्टराईले आफ्नो वीरगंज भ्रमणसँगै पर्साभित्र रहेका आन्तरिक असमझदारीहरू अन्त्य भएको उल्लेख गर्दै कार्यक्रमले एमाले एकताको सशक्त सन्देश दिएको बताए। उनले यसपटक पर्साका चारै निर्वाचन क्षेत्रमा एमालेले जित हासिल गर्ने विश्वास व्यक्त गरे।

    एमाले पर्सा क्षेत्र नम्बर–१ का संयोजक मानदेव हजराको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्यहरू प्रभु हजरा र निर्मला देवकोटा, मधेस प्रदेशका पूर्वमन्त्री प्रमोद जयसवाल, प्रदेशसभा पूर्व सदस्य जन्नत अन्सारी, जिल्ला अध्यक्ष डा. विश्वम्भर शर्मा, जिल्ला सचिव महेश दास, नेतृ मुन्नी श्रीवास्तवलगायतका नेताहरूको उपस्थिति रहेको थियो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar