पोखरा महानगरपालिकाले भोलिदेखि सेवा सञ्चालनमा ल्याउँदै

  • कालिका खवर
  • बुधबार, अशोज १, २०८२
  • गण्डकी, १ असोज । जेनजी प्रदर्शनका क्रममा पोखरा महानगरपालिकाका अधिकांश कार्यालयका भवन क्षतिग्रस्त बनेपछि त्यसको वैकल्पिक व्यवस्थासहित भोलिदेखि सेवा सञ्चालनमा ल्याउने तयारी गरिएको छ । महानगरले यसअघि आजदेखि नियमित सेवा सञ्चालनमा ल्याउने तयारी गरेको थियो ।

    आज प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूको सम्मानमा राष्ट्रिय शोक मनाउन देशभर सार्वजनिक बिदा घोषणा गरिएकाले भोलिदेखि सेवा सञ्चालनमा ल्याइने महानगरका प्रवक्ता मोती तिमल्सिनाले जानकारी दिनुभयो । प्रदर्शनका क्रममा प्रमुख प्रशासनिक भवनसहित महानगरभित्रका अधिकांश वडा कार्यालयमा क्षति पुगेको थियो । उहाँका अनुसार महानगरका ३३ वडामध्ये २० वटा वडाका भवन पूर्ण रूपमा, छ वटा वडा भवन सुरक्षित र अन्य सात वटामा आंशिक क्षति पुगेको छ ।

    उहाँका अनुसार पूर्ण रूपमा क्षतिग्रस्त भवनको वैकल्पिक व्यवस्थापन गर्दै सेवाहरू सञ्चालनमा ल्याउन लागिएको हो । यसैबीचमा कतिपय वडाका घरघरमा पुगेर पनि महानगरबाट अत्यावश्यकीय सेवाहरू प्रदान गर्न थालिएको उहाँले जानकारी दिनुभयो । मुलुकको विषम परिस्थितिका बाबजुत सकेसम्म सेवा प्रवाहलाई नरोक्ने उद्देश्यका साथ महानगरको वडा नं २५ ले घरघरमा पुगेर सुरक्षा भत्ता, परिचयपत्र नवीकरणलगायत सेवा प्रदान गरिरहेको प्रवक्ता तिमल्सिनाले बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar