पिकअप भ्यानबाट २०३ केजी गाँजा बरामद, फरार प्रतिवादीसहित ४ जना पक्राउ

  • कालिका खवर
  • बुधबार, पुस ३०, २०८२
  • रौतहट ।  बाराको जितपुर सिमरा उपमहानगरपालिका–१८ बडर्वा क्षेत्रमा प्रहरीले ठूलो परिमाणमा लागू औषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। मनहरिबाट कलैयातर्फ जाँदै गरेको नेपाली योद्धा पिकअप भ्यानबाट २०३ केजी ८५० ग्राम गाँजा बरामद गरिएको हो।

    प्रहरीका अनुसार मंगलबार  पिलुवा–कलैया भित्री सडक खण्डमा शङ्काका आधारमा बीए सी २३४३ नम्बरको पिकअप गाडी रोकी चेकजाँच गर्दा गाडीको पछिल्लो भागमा फल्स बटम बनाई लुकाइछिपाइ ल्याइएको २० पोका गाँजा फेला परेको हो।

    प्रहरी चौकी जैतापुरबाट असई निलप्रसाद मैनालीको कमान्डमा खटिएको टोली र अस्थायी ट्राफिक प्रहरी पोष्ट पिलुवाबाट प्रहरी हवलदार अनवर हुसेनको संयुक्त चेकिङ टोलीले गाँजा बरामद गरेको थियो।

    गाडी चालक मकवानपुरको मनहरी गाउँपालिका–६ निवासी २४ वर्षीय निशान बहादुर सुनचुरीलाई गाँजासहित नियन्त्रणमा लिइएको छ। उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि दिउँसो करिब १२ः२५ बजे इलाका प्रहरी कार्यालय सिमरा बारामा पठाइएको जिल्ला प्रहरीले जनाएको छ। पिकअप गाडी प्रहरी चौकी जैतापुरमै राखिएको छ।

    यसैबिच, जिल्ला प्रहरी कार्यालय बारा मातहतका प्रहरी इकाईहरूले अदालतबाट दण्ड–सजाय तोकिएर फरार रहेका तीन जना प्रतिवादीलाई पनि पक्राउ गरेका छन्। जिल्ला अदालतबाट फैसला भइसकेका तथा चालु मुद्दामा वारदातपछि फरार रहेका व्यक्तिहरू लुकिछिपी बसेको अवस्थामा  पक्राउ परेका हुन्।

    पक्राउ पर्नेमा बैंकिङ कसुर मुद्दामा एक करोड रुपैयाँ विगो तोकिएका सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–२ स्थायी ठेगाना भई हाल ललितपुर इमाडोलमा बस्दै आएका ४० वर्षीय श्री तामाङ रहेका छन्। उनलाई इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको टोलीले पक्राउ गरेको हो।

    यस्तै, लागू औषध मुद्दामा जीतपुर सिमरा उपमहानगरपालिका–१६ का २७ वर्षीय उमेश भोलन पक्राउ परेका छन्। उनी लामो समयदेखि फरार रहेका थिए। लेनदेन (विगो) सम्बन्धी मुद्दामा बारागढी गाउँपालिका–६ की ६५ वर्षीया हलिया थरुनी पनि पक्राउ परेकी छन्। उनलाई इलाका प्रहरी कार्यालय बारागढीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar