ओरिएन्टल इन्स्योरेन्स ४९ करोड नाफामा, बीमा कोषमा १७७ प्रतिशत वृद्धि

  • कालिका खवर
  • शनिबार, साउन ३०, २०८३
  • काठमाडौं । ओरिएन्टल इन्स्योरेन्सले आर्थिक वर्ष २०८२/८३ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीले अघिल्लो आर्थिक वर्षको घाटालाई उल्टाउँदै समीक्षा अवधिमा ४९ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

    आर्थिक वर्ष २०८१/८२ मा कम्पनी ११ करोड ७६ लाख रुपैयाँ घाटामा रहेको थियो। एक वर्षमै नाफामा उल्लेख्य सुधार देखिएको हो।

    कम्पनीको वित्तीय संरचनातर्फ हेर्दा समीक्षा अवधिको अन्त्यसम्म स्पेसल रिजर्भ १ अर्ब ८८ करोड ७३ लाख रुपैयाँ, महाविपत्ति कोष ८ करोड ५९ लाख रुपैयाँ, रिटेन्ड अर्निङ ४ लाख ५५ हजार रुपैयाँ र अन्य इक्विटी ९१ करोड ३७ लाख रुपैयाँ कायम रहेको छ।

    अघिल्लो आर्थिक वर्षमा स्पेसल रिजर्भ १ अर्ब ६६ करोड ११ लाख, महाविपत्ति कोष ६ करोड ३३ लाख र अन्य इक्विटी ७८ करोड १९ लाख रुपैयाँ रहेको थियो। त्यसबेला रिटेन्ड अर्निङ भने ६ करोड ३० लाख रुपैयाँ ऋणात्मक थियो।

    कम्पनीको बीमा कोषमा पनि उल्लेख्य वृद्धि भएको छ। गत आर्थिक वर्षको अन्त्यसम्म बीमा कोषको आकार ७ अर्ब ७६ करोड ९५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष २ अर्ब ८० करोड १९ लाख रुपैयाँ रहेको बीमा कोष एक वर्षमा १७७.२९ प्रतिशतले बढेको हो।

    त्यस्तै, कम्पनीले गत आर्थिक वर्षमा २ अर्ब ८२ करोड ३२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। अघिल्लो वर्षको २ अर्ब ६० करोड १४ लाख रुपैयाँको तुलनामा कुल बीमाशुल्क आर्जन ८.५२ प्रतिशतले वृद्धि भएको छ।

    कम्पनीको खुद बीमाशुल्क आर्जन पनि २४.७९ प्रतिशतले बढेको छ। समीक्षा अवधिमा कम्पनीले १ अर्ब ५९ करोड ५२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको १ अर्ब २७ करोड ८३ लाख रुपैयाँभन्दा बढी हो।

    यसरी नाफामा भएको सुधारसँगै बीमा कोष, कुल बीमाशुल्क तथा खुद बीमाशुल्क आर्जनमा भएको वृद्धिले गत आर्थिक वर्षमा ओरिएन्टल इन्स्योरेन्सको वित्तीय तथा व्यावसायिक अवस्थामा सकारात्मक सुधार आएको संकेत गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar