निर्माणाधीन राजमार्गमा दुर्घटना बढे

  • कालिका खवर
  • शुक्रबार, पुस १८, २०८२
  • झापा : निर्माणाधीन एसियाली राजमार्गको मेचीनगर–६ स्थित पालिया पुलमा बिहीबार राति मालवाहक ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ३३ वर्षीया लक्ष्मी साहको मृत्यु भएको छ। काँकडभिट्टाबाट विर्तामोडतर्फ जाँदै गरेको अवस्थामा साह सवार प्र १–०१–०१३ प ५८८८ नम्बरको स्कुटरलाई पिबी ०२ बिआर ७७६५ नम्बरको मालवाहक ट्रकले ठक्कर दिँदा निजको ज्यान गएको हो।

    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकी मेचीनगर–६ निवासी साहलाई तत्काल उपचारका लागि धुलाबारीस्थित मेची आम्दा अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। प्रहरीले ट्रकका चालक भारत पञ्जावको अमृतसर निवासी ३६ वर्षीय सन्दीप सिंहलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालयको हिरासतमा राखेको छ।

    निर्माणाधीन एसियाली राजमार्गको अव्यवस्थित डाइभर्सन र हिलाम्मे सडकका कारण सर्वसाधारणले सास्ती बेहोर्नुपरेको गुनासो गरेका छन्। यही पुस ५ गते साँझ विर्तामोड–६ स्थित बुट्टाबारी चिया बगान नजिकको डाइभर्सनमा मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको थियो।

    राजमार्गको काँकडभिट्टा–विर्तामोड खण्डमा डाइभर्सन र सङ्केत चिह्नहरू देख्ने गरी नराखिएका र चिप्लो माटो भरिएको सडकमा पानी खन्याउँदा हिलाम्मे हुने गरेको सर्वसाधारणको गुनासो छ। कनकाई–६ की पत्रकार सावित्रा दाहाल र मेचीनगर–९ का इभन लुइँटेलले खराब डाइभर्सनका कारण आफूहरू राजमार्गमा दुर्घटनामा परेको बताएका छन्। दाहाल र लुइँटेल लामो समयको अस्पताल बसाइपछि स्वास्थ्यलाभ गरेर हालै घर फर्किएका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar