नेपालमा १ हजार १ सय ११ थान एसआरएम ईभी बिक्री

  • कालिका खवर
  • आइतवार, भदौ ७, २०८३
  • काठमाडौं । नेपालमा एसआरएम ब्रान्डका १ हजार १ सय ११ थान विद्युतीय सवारीसाधन बिक्री भएका छन्। एसआरएमका सवारीसाधनको आधिकारिक आयातकर्ता तथा वितरक भिजी मोटर्सले उक्त बिक्रीको कोसेढुंगा पार गरेसँगै बिक्रीपछिको सेवा सञ्जाल र ग्राहक सेवामा थप जोड दिने जनाएको छ।

    नेपाली बजारमा एसआरएमलाई प्रमुख व्यावसायिक विद्युतीय सवारी ब्रान्डका रूपमा स्थापित गर्ने उद्देश्यसहित भिजी मोटर्सले अगस्ट २०२३ मा एसआरएम ईभीको यात्रा सुरु गरेको थियो। कम्पनीले अब नेपाली सडकमा १० हजार थान एसआरएम ईभी पुर्‍याउने दीर्घकालीन लक्ष्यसहित देशभर बजार विस्तार गर्ने योजना अघि सारेको छ।

    १ हजार १ सय ११ थान ईभी बिक्रीको अवसरमा भिजी मोटर्सले विशेष समारोह आयोजना गरी उपलब्धि मनाएको छ। कार्यक्रममा एसआरएमका प्रतिनिधि, ग्राहक, व्यावसायिक साझेदार, सञ्चारकर्मी तथा अन्य सरोकारवालाको सहभागिता थियो।

    कार्यक्रममा एसआरएमका एसियाली बजारका महाप्रबन्धक वाङ लु, बिक्री प्रबन्धक लुसिया वाङ, भिजी मोटर्सका प्रबन्ध निर्देशक विशाल अग्रवाल, प्रमुख कार्यकारी अधिकृत विवेक बिजुक्छे, बिजनेस हेड चन्दन रौनियारलगायतको उपस्थिति थियो। चर्चित नेपाली तेक्वान्दो खेलाडी तथा एसआरएमका ब्रान्ड एम्बेसडर दीपक विष्ट पनि कार्यक्रममा सहभागी थिए।

    एसआरएम र भिजी मोटर्सले १ हजार १ सय ११ सवारी बिक्रीको उपलब्धिलाई **‘१,१११ यात्रा, १,१११ जीविका र १,१११ कथा’**का रूपमा व्याख्या गरेका छन्। कम्पनीका अनुसार एसआरएमका विद्युतीय सवारी यात्रु ओसारपसार, विद्यालय तथा संस्थागत यातायात, सामान ढुवानी तथा साना व्यवसायका विभिन्न आवश्यकतामा प्रयोग हुँदै आएका छन्।

    नेपालका चुनौतीपूर्ण सडक अवस्थालाई ध्यानमा राख्दै एसआरएमका विद्युतीय सवारीमा ग्राउन्ड क्लियरेन्स बढाउनुका साथै मोटरको शक्ति र टर्क वृद्धि गरिएको कम्पनीले जनाएको छ। एसआरएमका सवारीमा सीएटीएलका ब्याट्री प्रयोग गरिएको र सर्तसहित ब्याट्रीमा ६ वर्ष वा ३ लाख ६० हजार किलोमिटरसम्मको वारेन्टी उपलब्ध गराउँदै आएको कम्पनीको भनाइ छ।

    भिजी मोटर्सका अनुसार नेपालमा एसआरएमका ३० भन्दा बढी सर्भिस टचपोइन्ट तथा वर्कसप सञ्चालनमा छन्। यस्तै, विद्युतीय सवारीको बढ्दो इकोसिस्टमलाई लक्षित गर्दै १०० भन्दा बढी चार्जिङ स्टेसन स्थापना भइसकेका छन्।

    कम्पनीले ४० जिल्लाका १ हजार ५ सयभन्दा बढी मेकानिक तथा ५० भन्दा बढी ड्राइभिङ इन्स्टिच्युटका प्रशिक्षकलाई ईभी प्रविधि र सडक सुरक्षासम्बन्धी तालिमसमेत दिएको जनाएको छ।

    नेपालमा थप विस्तार गर्ने योजनाअन्तर्गत एसआरएमले दुईवटा विद्युतीय ट्रक र एउटा एमपीभी ल्याउने तयारीसमेत गरिरहेको छ।

    कार्यक्रममा महत्वपूर्ण ग्राहक तथा साझेदारलाई सम्मान गरिएको थियो। हिमालयन ह्वाइट हाउस इन्टरनेसनल कलेजलाई १ हजारौँ एसआरएम खरिदकर्ता तथा युरो स्कुल, छाउनीलाई सबैभन्दा धेरै एसआरएम ईभी खरिद गर्ने संस्थाका रूपमा सम्मान गरिएको थियो। डिस्कभरी एजुकेसन नेटवर्क काठमाडौं प्रालिलाई ‘एसआरएम पायोनियर अवार्ड’ प्रदान गरिएको थियो।

    १ हजार १ सय ११ थान सवारी बिक्रीको उपलब्धिपछि भिजी मोटर्सले नेपालमा १० हजार थान एसआरएम सवारी बिक्री गर्ने नयाँ लक्ष्य तय गरेको छ। कम्पनीले चार्जिङ पूर्वाधार, सर्भिस सुविधा, प्राविधिक तालिम, स्पेयर पार्ट्सको उपलब्धता तथा ग्राहक सेवामा थप लगानी गर्दै विद्युतीय व्यावसायिक सवारीको प्रयोग देशभर विस्तार गर्ने योजना बनाएको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar