नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ३९औं वार्षिक साधारण सभा सम्पन्न

  • कालिका खवर
  • बुधबार, पुस ३०, २०८२
  • काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले आफ्नो ३९औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ ।

    काठमाडौंस्थित एलिस रिसेप्सनमा बुधबार आयोजित सभामा बैंकका अध्यक्ष श्री पृथ्वीबहादुर पाँडेको अध्यक्षतामा शेयरधनीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सभामा बैंकको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा वित्तीय विवरणहरू प्रस्तुत गर्दै आवश्यक छलफल गरिएको थियो ।

    आर्थिक वर्ष २०८१/८२ मा बैंकले ४ अर्ब ३३ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको जानकारी सभामा दिइयो । यस अवधिमा बैंकको कुल निक्षेप ६९ अर्ब ४८ करोड रुपैयाँले वृद्धि भई ४ खर्ब ७६ अर्ब रुपैयाँ पुगेको छ । त्यसैगरी, कर्जा प्रवाहतर्फ २० अर्ब ८४ करोड रुपैयाँको विस्तारसँगै खुद कर्जा तथा सापटी रकम ३ खर्ब ३९ अर्ब रुपैयाँ कायम भएको छ ।

    बैंकले आफ्नो लगानी ३५ अर्ब ८७ करोड रुपैयाँले वृद्धि गरी १ खर्ब ४२ अर्ब रुपैयाँ पुर्‍याएको छ । ३४ अर्ब १३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको कुल शेयरधनी कोष ६४ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ ।

    हाल नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले देशभर २७१ शाखा, २५९ एटीएम, ६५ एक्सटेन्सन काउन्टर तथा ६० शाखारहित बैंकिङ सेवामार्फत अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar