नेकपा एमालेद्वारा गोरखा–१ बाट लीलानाथ न्यौपाने उम्मेदवार सिफारिस

  • कालिका खवर
  • शुक्रबार, पुस १८, २०८२
  • गोरखा । नेकपा एमालेले गोरखा प्रतिनिधिसभा क्षेत्र नं. १ बाट लीलानाथ न्यौपानेको नाम उम्मेदवारका रूपमा सिफारिस गरेको छ। लामो समयदेखि कम्युनिस्ट आन्दोलनमा सक्रिय रहँदै आएका न्यौपाने एक अनुभवी र संघर्षशील नेता रूपमा परिचित छन्। माओवादी पृष्ठभूमिबाट आएका उनी पछिल्लो समय युवामाझ लोकप्रिय नेताको रूपमा स्थापित हुँदै गएका छन्।

    न्यौपानेले युवालाई वैदेशिक रोजगारीतर्फ धकेल्ने अवस्थाको अन्त्य गर्दै स्वदेशमै रोजगारीको सुनिश्चितता गर्नु आफ्नो मुख्य एजेण्डा रहेको बताएका छन्। गोरखा जिल्लाभित्रै उत्पादन, रोजगारी र अवसर सिर्जना गरी स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने उनको प्रतिबद्धता रहेको छ।

    उम्मेदवार सिफारिसका क्रममा अन्य नेताहरूसँग समेत छलफल भइसकेको र सबैबाट सकारात्मक समर्थन पाएको न्यौपानेले जानकारी दिए। सहकर्मी नेताहरूले “तपाईं अघि बढ्नुस्, हामी साथ दिन्छौँ” भन्दै आफूलाई अघि बढ्न प्रेरित गरेको उनको भनाइ छ।
    न्यौपानेले आफू निर्वाचित भए गोरखाको चुमनुर्वीदेखि बेनीघाटसम्मका नाकाहरू खोल्दै व्यापार, उत्पादन र रोजगारीका अवसर विस्तार गर्ने योजनालाई प्राथमिकतामा राख्ने स्पष्ट पारेका छन्। यसबाट स्थानीय युवाले जिल्लामै रोजगारी पाउने वातावरण तयार हुने उनको विश्वास छ।

    यसैबीच, नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पनि गोरखा क्षेत्र नं. १ बाट सिफारिस भएको भन्ने चर्चा रहे पनि, न्यौपानेले मित्रवत् प्रतिस्पर्धाका लागि आफू पूर्ण रूपमा तयार रहेको बताएका छन्। लोकतान्त्रिक प्रतिस्पर्धामार्फत जनताको विश्वास जित्ने आफ्नो लक्ष्य रहेको उनको भनाइ छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar