नाट्टा निर्वाचन : जिस्वा तुलाधर श्रेष्ठ समूहको १२ बुँदे प्रतिबद्धता सार्वजनिक

  • कालिका खवर
  • शनिबार, साउन २३, २०८३
  • काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचनका लागि अध्यक्ष पदकी उम्मेदवार जिस्वा तुलाधर श्रेष्ठ नेतृत्वको समूहले १२ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ । ‘सबल नेतृत्व, सुरक्षित व्यवसाय–समृद्ध पर्यटनका लागि NATTA’ भन्ने अवधारणासहित समूहले पर्यटन व्यवसायलाई व्यवस्थित, प्रतिस्पर्धी र प्रविधिमैत्री बनाउने एजेन्डा अघि सारेको हो ।

    समूहले नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा थप प्रभावकारी रूपमा प्रवद्र्धन गर्ने, सदस्य ट्राभल कम्पनीलाई विश्वव्यापी बजारसँग जोड्ने तथा B2B माध्यमबाट बजार विस्तार गर्ने जनाएको छ । यस्तै, IATA तथा टिकटिङ प्रणालीमा देखिएका समस्या समाधान, GDS तथा ADM सम्बन्धी विषयमा व्यवसायीको हित संरक्षण र टिकटिङ प्रक्रियालाई सहज बनाउने प्रतिबद्धता गरिएको छ ।

    नयाँ तथा साना व्यवसायीलाई सहज वातावरण सिर्जना गर्न Single Window System लागू गर्ने तथा सदस्यका समस्या समाधानका लागि NATTA Help Desk स्थापना गर्ने योजना पनि समूहले अघि सारेको छ । अन्तर्राष्ट्रिय हवाई टिकटमा लाग्ने VAT हटाउन सरकार तथा सम्बन्धित निकायसँग पहल गर्ने र पर्यटन सेवाको लागतलाई प्रतिस्पर्धी बनाउन नीतिगत पहल गर्ने प्रतिबद्धता समेत गरिएको छ ।

    पर्यटकको सहज आवागमनका लागि पर्यटकीय बस तथा अन्तरसहर यातायात विस्तार, पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन र अन्तर्राष्ट्रिय उडान विस्तारलाई पनि समूहले प्राथमिकतामा राखेको छ । प्रदेशगत नाट्टा च्याप्टरलाई थप अधिकारसम्पन्न, सक्रिय र आत्मनिर्भर बनाउने तथा पर्यटन क्षेत्रमा देखिएका अवैधानिक गतिविधि नियन्त्रणका लागि सरकारी निकायसँग समन्वय गर्ने योजना छ ।

    नाट्टालाई प्रविधिमैत्री संस्था बनाउने उद्देश्यले ‘Smart NATTA’ को अवधारणा अघि सार्दै सेवा तथा गतिविधिलाई डिजिटल बनाउने, अनलाइन मतदान प्रणालीको परीक्षण गर्ने र सदस्यलाई सहज डिजिटल सेवा उपलब्ध गराउने प्रतिबद्धता गरिएको छ । साथै, NATTA Academy मार्फत डिजिटल मार्केटिङ, भाषा, AI, संकट व्यवस्थापन तथा आधुनिक प्रविधिसम्बन्धी तालिम सञ्चालन गरी व्यवसायीको क्षमता विकासमा जोड दिने समूहले जनाएको छ ।

    श्रेष्ठ नेतृत्वको समूहमा वरिष्ठ उपाध्यक्षमा विष्णु पाण्डे, उपाध्यक्षमा प्रज्ञा पाठक शर्मा, महासचिवमा सुशील पन्त, सचिवमा रमेश घिमिरे, कोषाध्यक्षमा कृष्णप्रसाद ढकाल र सह–कोषाध्यक्षमा डा. बिमला दाहाल रहेका छन् । कार्यसमिति सदस्यमा प्रदीप आचार्य, सुदर्शन गजुरेल, दिनेश घिमिरे, त्रिलोचन न्यौपाने, अनु राउत (अधिकारी) र रोजिना रञ्जितकार उम्मेदवार छन् । समूहले ‘सदस्यको विश्वास, एकताबद्ध NATTA, समुन्नत पर्यटन व्यवसाय’ लाई आफ्नो मुख्य सन्देश बनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar