मुख्यमन्त्री आचार्यले गरे अर्घाखाँचीको आगजनी प्रभावित क्षेत्रको निरीक्षण

  • कालिका खवर
  • शनिबार, अशोज ४, २०८२
  • अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अर्घाखाँची जिल्लास्थित सरकारी कार्यालय तथा विभिन्न राजनीतिक दलका पार्टी कार्यालयमा भएको क्षतिको स्थलगत निरीक्षण गरेका छन् ।

    शनिबार गृहजिल्ला अर्घाखाँची आइपुगेका मुख्यमन्त्री आचार्यले भग्नावशेष बनेका संरचनाहरूको स्थलगत निरीक्षण गरेका हुन् ।

    गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा अर्घाखाँचीमा जिल्ला समन्वय समिति, सन्धिखर्क नगरपालिका, नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) लगायतका कार्यालयमा आगजनी भएको थियो ।

    सरकारी कार्यालयहरूको सेवा प्रवाह तत्काल सुचारु गर्ने विषयमा समेत मुख्यमन्त्री आचार्यले चासोका साथ छलफल गरेका छन् ।

    ‘अब सेवा प्रवाह कसरी अघि बढाउन सकिन्छ भन्नेमा ध्यान दिनुपर्छ । अस्थायी संरचना होस् या त्रिपाल टाँगेर भए पनि जनताको काम गरिनुपर्छ’ मुख्यमन्त्री आचार्यले भने, ‘सबैसँग समन्वय र सहकार्य गरेर सेवा प्रवाहमा जुट्नै पर्छ ।’

    जेनजी आन्दोलनका नाममा घुसपैठ भई सरकारी, सामाजिक तथा राजनीतिक संघसंस्था र व्यक्तिगत संरचनामा क्षति पुर्‍याउने कार्य भएको र ती घटनाको अनुसन्धान गरी दोषी पहिचान गरेर कानूनी दायरामा ल्याउन सरोकारवाला पक्षले माग गरेका थिए । यस क्रममा मुख्यमन्त्री आचार्यले घटनाको सबै पक्ष र तहबाट सुरक्षा निकायले अनुसन्धान गरिरहेको बताएका थिए ।

    आन्दोलनकारीहरुले मुख्यमन्त्री आचार्यको सन्धिखर्कस्थित घरमा समेत आगजनी गरेका थिए । आगजनीले घरमा पूर्ण क्षति पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar