मोरङमा एम्बुलेन्सबाट पाँच सय केजी गाँजा बरामद

  • कालिका खवर
  • सोमवार, पुस १४, २०८२
  • विराटनगर । मोरङमा प्रहरीले हवाई फायर गरी नियन्त्रणमा लिएको एम्बुलेन्सबाट ५ सय २१ किलो गाँजा बरामद भएको छ ।

    गाँजा बोकेको एम्बुलेन्स नियन्त्रणमा लिन आइतबार राति करिब ११ बजे केराबारी गाउँपालिका–५ लाफा टोलमा प्रहरीले हवाई फायर गरेको हो । प्रहरीको कारबाहीपछि गाँजा लोड गरिएको एम्बुलेन्ससहित दुई जना पक्राउ परेका छन् ।

    मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक कवित कटवालका अनुसार नियन्त्रणमा लिएको एम्बुलेन्सबाट निकालेर तौल गर्दा ५ सय २१ किलो गाँजा भेटिएको हो । गाँजा ओसारपसारका लागि एम्बुलेन्सको दुरुपयोग गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए ।  एम्बुलेन्सभित्र १६ वटा पोकामा लुकाइछिपाइ गाँजा राखिएको अवस्थामा बरामद गरिएको थियो ।

    धनकुटाबाट मोरङतर्फ एम्बुलेन्समार्फत गाँजा ल्याइँदै छ भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलबारी र केराबारीबाट संयुक्त टोली खटिएको थियो । शंकास्पद अवस्थामा आउँदै गरेको प्रदेश १–०६–००१ झ ०००४ नम्बरको एम्बुलेन्सलाई रोक्न खोज्दा सवार व्यक्तिहरू भाग्न खोजेपछि असई फजिन्द्र तोलांगीले चाइनिज पेस्तोलबाट एक राउन्ड हवाई फायर गरेका थिए ।

    प्रहरीले भाग्न खोजेका दुवै जनालाई नियन्त्रणमा लिन सफल भएको छ । पक्राउ पर्नेमा एम्बुलेन्स चालक धनकुटाको सहिदभूमि गाउँपालिका–६ का ३५ वर्षीय निश्चल राई र एम्बुलेन्समा सवार साँगुरीगढी गाउँपालिका–२ का २० वर्षीय खगेन्द्र लिम्बू रहेका छन् ।

    उक्त एम्बुलेन्स धनकुटाको सहिदभूमि गाउँपालिका–१ खाल्सा–छिन्ताङस्थित सूर्यबहादुर थापा प्रतिष्ठानको नाममा दर्ता रहेको पाइएको छ ।

    नियन्त्रणमा लिइएको एम्बुलेन्स, बरामद गाँजा र पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखी लागुऔषध ऐनअन्तर्गत मुद्दा दर्ता गर्ने तयारी भइरहेको छ ।  घटनाको थप अनुसन्धान प्रहरी निरीक्षक राजीव गिरीको नेतृत्वमा भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar