महिला भलिबलः त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश

  • कालिका खवर
  • शुक्रबार, मंसिर १९, २०८२
  • झापा, १९ मङ्सिर । यहाँ जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आज सम्पन्न समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेष्ट लुम्बिनी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै त्रिभुवन आर्मी क्लव विजयी बनेको थियो । आर्र्मी क्लबले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा एभरेस्ट लुम्बिनी क्लबलाई पराजित गरेको थियो ।

    पराजय व्यहोरेसँगै एभरेस्ट लुम्बिनी प्रतियोगिताबाट बाहिरिएको छ । खेलको ‘प्लेयर अफ दी म्याच’ आर्मी क्लबकी वसन्ती साउद हुनुभयो । उहाँलाई नगद रु पाँच हजार र ट्रफी प्रदान गरिएको छ । समूह ‘ए’ मा रहेको त्रिभुवन आर्मी क्लबले अब सेमिफाइनलमा समूह ‘बी’ को विजेतासँग प्रतिस्पर्धा गर्नेछ । आजको खेल जितेर त्रिभुवन आर्मी क्लब आफ्नो समूह ‘ए’को उपविजेता भएको हो ।

    समूह ‘ए’ बाट एपिएफ समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरिसकेको छ । प्रतियोगितामा सहभागी छ टोलीलाई दुई समूहमा बाँडिएको छ । समूह ‘ए’ मा एपिएफ, एभरेस्ट लुम्बिनी र त्रिभुवन आर्मी छन्भने समूह ‘बी’ मा न्यू डायमन्ड, कोशी प्रदेश र नेपाल पुलिस क्लब रहेका छन् । अर्जुनधारा–६ मा रहेको लक्ष्मी माविको मैदानमा जारी प्रतियोगिताको फाइनल खेल मङ्सिर २१ गते हुने सहआयोजक लक्ष्मी माविका अध्यक्ष वीरबहादुर राईले बताउनुभयो ।

    झापामा राष्ट्रियस्तरको महिला भलिबल पहिलोपटक भएको हो । प्रतियोगिताको विजेताले रु दुई लाख, दोस्रोले रु एक लाख र तेस्रो हुनेले रु ३० हजार पुरस्कार पाउने आयोजक नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालले बताउनुभयो । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले रु १५ हजार, प्रत्येक दिनको प्लेयर अफ दी म्याचले रु पाँच हजार र ट्रफी प्राप्त गर्नेछन् ।

    त्यस्तै बेस्ट स्पाइकर, बेस्ट ब्लकर, बेस्ट सर्भर, बेस्ट सेटर र बेस्ट लिबेरोले रु १० हजार र ट्रफी प्राप्त गर्नेछन् । मङ्सिर २० गते पहिलो सेमिफाइनल समूह ‘ए’ को विजेता र समूह ‘बी’ को उपविजेताबीच हुनेछ । सोही दिन अन्तिम सेमिफाइनल खेल समूह ‘बी’ को विजेता र समूह ‘ए’ को उपविजेताबीच हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar