मेरो घर जेन-जी आन्दोलनकारीले होइन, नियोजित घुसपैठियाले जलाएका हुन् : प्रदीप यादव

  • कालिका खवर
  • आइतवार, भदौ २९, २०८२
  • वीरगंज — जसपाका उपमहासचिव तथा निवर्तमान खानेपानी मन्त्री प्रदीप यादवले आफ्नो घर जेन-जी आन्दोलनकारीहरूले नभई नियोजित घुसपैठियाले जलाएको दाबी गरेका छन्। जेन-जी आन्दोलनपछि पहिलोपटक गृह जिल्ला पर्सा पुगेका यादवले स्थानीय पत्रकारहरूसँग कुरा गर्दै आफू सुरु देखिनै आन्दोलनको पक्षमा रहेको र युवाहरूको नेता भएको स्पष्ट पारे।

    यादवले भने, “राज्यद्वारा आन्दोलनमा भएको बर्बर दमनका समाचार सुनेर रातभर सुत्न सकिनँ। यही कारण २३ गते नै मन्त्री पदबाट राजीनामा दिने निर्णयमा पुगेँ। गृहमन्त्रीपछि दोस्रो मन्त्रीको रूपमा मैले पनि राजीनामा दिएको हुँ।”

    घरमा आगजनीबारे भावुक हुँदै उनले भने, “मेरो छोराको स्कुल ब्याग जलाइएको छ, छोरीका कागजातहरू पनि जलाइएका छन्। म भ्रष्टाचारमा संलग्न छैन। बाउबाजेले अर्जन गरेको सम्पत्तिमा आगजनी र लुटपाट भयो। अहिले छिमेकीको घरमा बस्नुपरेको छ।”

    उनले थपे, “जेन-जी आन्दोलनकारी सानै उमेरमा बौद्धिक भएका छन्। उनीहरूले मेरो घर जलाएका होइनन्। आन्दोलनलाई बदनाम गर्न नियोजित घुसपैठ भएको हो। घर जलाउनेहरूको पहिचान भइसकेको छ, तर म प्रतिशोधको राजनीति गर्दिन।”

    वीरगंजवासीलाई सचेत रहन आग्रह गर्दै यादवले भने, “मेरो घर मात्र होइन, वीरगंज नै जलाउने प्रयास भयो। आगजनीजस्तो काम निन्दनीय हुन्छ, यसको मूल्यांकन भगवानले गर्नुहुनेछ। प्रहरीले कारबाही नगरे पनि अग्निदेवताले सजाय दिनुहुनेछ भन्ने विश्वास छ।”

    देशको प्रणाली अथक संघर्षपछि प्राप्त भएको भन्दै यादवले संघीयता, लोकतन्त्र र पहिचान जोगाउन सबैको कर्तव्य रहेको बताए। उनले भने, “जेन-जी पुस्ताले देशलाई आफ्नै इच्छाअनुसार अगाडि बढाउनुपर्छ। जनविरोधी नेताहरूलाई मताधिकार प्रयोग गरेर राजनीतिक जीवनबाट बाहिर गर्नुपर्छ।”

    मधेश आन्दोलनदेखि पहिचान आधारित आन्दोलनसम्मको अनुभव सुनाउँदै यादवले जेन-जी पुस्ताको भावनाअनुसार राजनीति अघि बढाउनुपर्नेमा जोड दिए। “देश बनाउन जेन-जी पुस्ताले अग्रसर हुनुपर्छ। उनीहरू राजनीतिमा आउन चाहन्छन् भने स्वागतयोग्य हो, तर जनताको मन जित्नुपर्छ,” यादवले भने।

    यादवसँगै वीरगंजमा जेन-जी आन्दोलनको नाममा निवर्तमान कानून मन्त्री अजय चौरसिया, पूर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता, पूर्व मुख्यमन्त्री लालबाबु राउत गद्दी, वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह, नेपाली कांग्रेसका नेता एवं उद्योगपति अनिल रुंगटा लगायतका व्यक्तिहरूका निजी घरहरूमा तोडफोड, लुटपाट र आगजनी भएको हो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar