कुमारी बैंकको मोबाइल बैंकिङ एपमा आईआरडी प्रोत्साहन कार्यक्रम सुविधा

  • कालिका खवर
  • सोमवार, भदौ १, २०८३
  • काठमाडौं । कुमारी बैंक लिमिटेडले नेपाल सरकार तथा आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन कार्यक्रमलाई सहयोग पुर्‍याउने उद्देश्यले आफ्नो मोबाइल बैंकिङ एपमा ‘आईआरडी प्रोत्साहन कार्यक्रम’ सुविधा उपलब्ध गराएको छ।

    आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सुरु गरिएको यस कार्यक्रमले उपभोक्तालाई प्यान तथा भ्याट बिल लिन प्रोत्साहित गर्नुका साथै डिजिटल भुक्तानी, कर अनुपालन र वित्तीय पारदर्शिता प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ।

    यस सुविधामार्फत कुमारी बैंकका ग्राहकले नेपालभित्र व्यक्तिगत प्रयोजनका लागि रु. १०० भन्दा बढीको वस्तु वा सेवा खरिद गरी व्यापारीको क्यूआरमार्फत भुक्तानी गर्दा स्वतः पुरस्कार योजनामा सहभागी हुन सक्नेछन्। ग्राहकले कुमारी स्मार्ट मोबाइल बैंकिङ एपको ‘आईआरडी प्रोत्साहन कार्यक्रम’ मेनुमार्फत योग्य कारोबारको संख्या, कारोबार विवरण तथा पुरस्कार प्राप्तिको अवस्था समेत हेर्न सक्नेछन्।

    आन्तरिक राजस्व विभागको व्यवस्थाअनुसार योग्य कारोबारमध्येबाट दैनिक लक्की ड्रमार्फत एक जना ग्राहकले कर कट्टीपछि रु. १ लाख नगद पुरस्कार प्राप्त गर्नेछन्। यस्तै, प्रत्येक १५ दिनमा एक जना भाग्यशाली ग्राहकले रु. १० लाख बराबरको बम्पर पुरस्कार प्राप्त गर्ने व्यवस्था गरिएको छ।

    बैंकले ग्राहकलाई व्यापारीको क्यूआरमार्फत भुक्तानी गर्न, प्यान तथा भ्याट बिल लिन, बिल सुरक्षित राख्न र नियमित रूपमा ‘आईआरडी प्रोत्साहन कार्यक्रम’ सुविधा प्रयोग गरी आफ्नो योग्यताको अवस्था जाँच गर्न आग्रह गरेको छ। बैंकले यस अभियानले डिजिटल कारोबार विस्तारसँगै नगदरहित अर्थतन्त्र निर्माण, कर अनुपालन वृद्धि तथा वित्तीय पारदर्शिता सुदृढ गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

    विगत २५ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले हाल देशभर २८५ शाखा, ४१ विस्तार काउन्टर, ३०२ एटीएम तथा ४० शाखारहित बैंकिङ इकाइमार्फत लाखौँ ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ। बैंकले शहरी, अर्धशहरी तथा ग्रामीण क्षेत्रसम्म सेवा विस्तार गर्दै सहज, सुरक्षित र गुणस्तरीय बैंकिङ पहुँच सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar