क्षतिको दावी भुक्तानी प्रक्रिया छिटो टुंग्याउने बीमा व्यवसायी संघको प्रतिवद्धता

  • कालिका खवर
  • शुक्रबार, अशोज ३, २०८२
  • काठमाडौं । नेपाल निर्जीवन बीमा व्यवसायी संघले आन्दोलनका क्रममा भएको क्षतिको दावी भुक्तानी प्रक्रिया शीघ्र निष्कर्षमा पुर्‍याउने प्रतिवद्धता व्यक्त गरेको छ।

    संघले जारी गरेको विज्ञप्तिमा बीमा भएका सवारीसाधन तथा भौतिक संरचनाको यथार्थ विवरण संकलन गरी सम्बन्धित निकायमार्फत प्रक्रिया अघि बढाउन आग्रह गरिएको छ। बीमा कम्पनीहरूले आफ्नो सामाजिक उत्तरदायित्व पूरा गर्दै बीमित सम्पत्तिको क्षतिपूर्ति छिटो उपलब्ध गराउने प्रतिबद्धता संघले प्रष्ट पारेको छ।

    संघले आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेको छ भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ। साथै, राष्ट्रपतिको भवन, संसद भवन, सुरक्षानिकाय, निजी सम्पत्ति, उद्योग, व्यापार, यातायातसहितका संरचनामा भएको क्षतिको विषयमा गहिरो दुःख व्यक्त गर्दै दावी भुक्तानीलाई प्राथमिकतामा राख्न बीमा कम्पनीहरूलाई आह्वान गरेको छ।

    संघका अध्यक्ष राजेन्द्र मल्लले बीमितहरूले आवश्यक कागजात र क्षतिको विवरण चाँडो बीमा कम्पनीमा बुझाई दावी प्रक्रिया सहज बनाउन सहयोग गर्न आग्रह गर्नुभएको छ। उहाँले २०७२ को भूकम्प र कोभिड महामारीपछिका अनुभवले बीमाको आवश्यकता अझ स्पष्ट पारेको भन्दै हालको परिस्थितिमा बीमा कम्पनीहरूको सक्रियता सकारात्मक रहेको टिप्पणी गर्नुभयो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar