कारागार फर्कंदै कैदी र थुनुवा

  • कालिका खवर
  • आइतवार, भदौ २९, २०८२
  • महोत्तरी, २९ भदौ । यही भदौ २४ गतेको जेनजीद्वारा गरिएको प्रदर्शनपछि महोत्तरी कारागारबाट भागेका कैदी तथा थुनुवा फर्किन थालेका छन् । हालसम्म ११० जना कैदी तथा थुनुवा कारागार फर्किएका हुन् । पछिल्लो २४ घण्टामा ४७ जना कैदी तथा थुनुवा स्वेच्छाले कारागार फर्केका कारागार प्रशासनले जनाएको छ । यसअघि बुधबारदेखि शुक्रबारसम्म ६३ जना गरी हालसम्म ११० जना कैदी तथा थुनुवा कारागार फर्किएका कारागारका निमित्त प्रमुख रविनचन्द्र ठाकुरले जानकारी दिनुभयो ।

    “भागेका कैदी÷थुनुवामध्ये ११० जना स्वेच्छाले फर्किसकेका छन्, यीबाहेक १३ जनालाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको छ”, उहाँले भन्नुभयो, “पक्राउ परेकामध्ये १२ जना भारततर्फ भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।” कारागारमा रहेका पाँच सय ७६ कैदीबन्दीमध्ये गत मङ्गलबार ५७५ जना भागेका जनाउँदै कारागारका निमित्त प्रमुख ठाकुरले कर्तव्यज्यान मुद्दामा पूर्पक्ष थुनामा रहेका दिपककुमार यादव नभागेका बताउनुभयो । यसैबीच कारागारमा तोडफोड गरी फरार भएका कैदी तथा थुनुवालाई फर्कन कारागार प्रशासनले गत बुधबार आग्रह गरेको छ ।

    निमित्त प्रमुख ठाकुरले भन्नुभयो, “बुधबार साँझ २४ घण्टाको समय दिएर फर्कन आग्रह गरेका थियौँ, धेरै टाढा नपुगेकाहरू सोही दिन फर्के पनि टाढा पुगेका फर्कन समय लाग्ने भएकाले कैदीबन्दी आउनेक्रम जारी छ ।” तोकिएको अवधिभित्र फर्कन नसकेका र फर्कन चाहनेहरूका लागि स्थानीय प्रशासन र प्रहरीसँग समन्वय गरेमा पछिसम्म अवसर दिने उहाँले उल्लेख गर्नुभयो । कारागार कार्यालयले बुधबार विज्ञप्ति जारी गर्दै भागेका कैदी तथा थुनुवालाई भागेबापत कुनै सजाय नगरिने जनाउँदै फर्कन आग्रह गरेको थियो स्वेच्छाले नफर्कनेको हकमा खोजी गरी थप सजाय गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ । कारागार प्रशासनले भागेका कैदी तथा थुनुवाको खोजी भइरहेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar