जनकपुरधामको थप उन्नयमा मेरो उच्च प्राथमिकता रहने छ : मनिष झा

  • कालिका खवर
  • आइतवार, फाल्गुन २४, २०८२
  • काठमाडौं : धनुषा ३ बाट नव निर्वाचित प्रतिनिधिसभा सदस्य मनिष झाले जनकपुरधामको विकास, सरसफाइ तथा अन्तरराष्ट्रिय पहिचानलाई नयाँ उचाइमा पुर्याउने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता समेत रहेका उनले निर्वाचित भएपछि पहिलोपटक जनकपुर रेल्वे स्टेशनमा आयोजित सभालाई सम्बोधन गर्दै प्राप्त मत केवल विजयको प्रतीकमात्र नभई ठूलो जिम्मेवारी भएको उल्लेख गरे । उनले आफू सत्ताको शक्ति र राजधानीको आकर्षणमा अल्झिने ‘भिआइपी’ नेता बन्न नभई जनताको सुखदुःखमा साथ दिने वास्तविक प्रतिनिधिका रूपमा काम गर्न आएको स्पष्ट पारे ।

    उनले जनकपुरको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वलाई विश्वव्यापी रूपमा स्थापित गर्न आफ्नो कार्यकालमा विशेष पहल गर्ने बताए । विशेषगरी जानकी मन्दिरलाई युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गराउन आवश्यक प्रक्रिया र कूटनीतिक पहललाई प्राथमिकतामा राख्ने उनको भनाइ छ । जनकपुरधाममा पछिल्लो समय देखिएको सरसफाइको समस्या समाधान गर्नु आफ्नो मुख्य ‘एजेन्डा’मध्ये एक रहेको स्पष्ट पार्दै उनले स्थानीय तह र नागरिकसँग सहकार्य गरी सहरलाई सफा, व्यवस्थित र आकर्षक पर्यटकीय नगरीका रूपमा विकास गर्ने योजना अघि सारे ।

    विजयपछि उत्साहित आफ्ना कार्यकर्तालाई संयमित रहन आग्रह गर्दै उनले निर्वाचनलाई प्रतिशोध नभई स्वस्थ लोकतान्त्रिक प्रतिस्पर्धाका रूपमा लिनुपर्ने बताए । उनले कसैप्रति पनि अहंकार वा दम्भ प्रदर्शन नगर्न सचेत गराउँदै अब सबै मिलेर क्षेत्रको विकासमा केन्द्रित हुनुपर्नेमा जोड दिए ।धनुषा–३ बाट फराकिलो मतान्तरसहित विजयी भएका ४५ वर्षीय झाले ४३ हजार १४२ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विमलेन्द्र निधिले १५ हजार ९९२ मत प्राप्त गरेको छ । यसअघि २०७९ सालको निर्वाचनमा उनी राष्ट्रिय स्वतन्त्र पार्टीकै समानुपातिक सांसदका रूपमा प्रतिनिधिसभामा थिए । प्रतिनिधिसभाको तीनवर्षे अवधिमा उनले करिब ९५ प्रतिशत उपस्थिति जनाउनुका साथै सार्वजनिक लेखा समितिको सदस्यका रूपमा पनि काम गरेको थियो । रास्वपामा आबद्ध हुनुअघि उनी नेपाली कांग्रेसमा सक्रिय राजनीतिमा संलग्न थिए ।

    फ्याक्टस नेपालका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृतसमेत रहेका झाले राजनीतिशास्त्रमा स्नातकोत्तर र मैथिली साहित्यमा पनि स्नातकोत्तर अध्ययन गरेको छ । आगामी दिनमा जनकपुरको समग्र विकासका लागि आफू सक्रिय रहने बताउँदै उनले निर्वाचनका क्रममा गरेका प्रतिबद्धताहरूलाई प्राथमिकतामा राखेर काम अघि बढाउने बताए । “सरकारी कार्यालयका सेवालाई चुस्तदुरुस्त बनाइनेछ । जनकपुरलाई विवाह (बैवाहिक) गन्तव्यका रूपमा विकास गर्ने योजना अघि बढाइनेछ”, उनले भने । त्यसैगरी, रामजानकी रङ्गशालाको स्तरोन्नति, जनकपुर विमानस्थलको सुधार तथा जनकपुर रेल्वे सेवाको स्तरोन्नतिलाई पनि प्राथमिकतामा राखेर काम गरिने उनले जानकारी दिए । उनका अनुसार यी योजनाले जनकपुरको पर्यटन, आर्थिक गतिविधि र अन्तरराष्ट्रिय पहिचानलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar