इक्यानको महासचिवमा उम्मेदवारी दिएका भवनाथ हुमागाईले जितेपछि के–के गर्छन् ?

  • कालिका खवर
  • शुक्रबार, पुस १८, २०८२
  • काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को केन्द्रीय महासचिव पदका लागि वर्तमान प्रथम सचिव भवनाथ हुमागाईले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेका छन्। शैक्षिक परामर्श व्यवसायीहरूको सबैभन्दा ठूलो छाता संगठन इक्यानको आगामी निर्वाचन पुस २८ गते काठमाडौंमा हुँदैछ, जहाँ साधारणसभासँगै दुई वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन हुनेछ।

    हुमागाईले नेपालमा शैक्षिक परामर्श व्यवसायलाई व्यवस्थित, मर्यादित र सशक्त बनाउने साझा अभियानमा आफू निरन्तर सक्रिय रहँदै आएको बताएका छन्। कार्यसमिति सदस्य हुँदै सचिवको जिम्मेवारी सम्हालिसकेका उनी व्यवसायीहरूसँग सुदृढ सम्बन्ध, समस्या पर्दा आवाज उठाउने र आवश्यक सहकार्य गर्ने नेताका रूपमा परिचित छन्। यसअघिको निर्वाचनमा पनि राम्रो मतसहित सचिव निर्वाचित भएका हुमागाईले संगठन विभाग र आन्तरिक मामिला विभागको संयोजक भएर संस्थागत सुदृढीकरणमा योगदान दिएका थिए।

    संस्थालाई अब रणनीतिक सोच, निर्णायक नेतृत्व र ७ सयभन्दा बढी सदस्यहरूको भविष्य सुरक्षित गर्न सक्ने सक्षम नेतृत्व आवश्यक भएकाले आफू महासचिव पदमा अघि सरेको उनले बताए। पदभन्दा पनि परिणाममुखी काम गर्ने उद्देश्यले महासचिवको भूमिका रोजेको उल्लेख गर्दै उनले शाखा सशक्तिकरण, केन्द्र–शाखा समन्वय र इक्यानको गरिमा अन्तर्राष्ट्रिय तहसम्म पुर्‍याउने योजना सार्वजनिक गरेका छन्। ‘नयाँ उद्यमीदेखि स्थापित व्यवसायीसम्म सबैको भविष्य सुनिश्चित हुने प्रोफेसनल इकोसिस्टम निर्माण गर्नु हाम्रो लक्ष्य हो,’ उनले भने।

    सचिवको भूमिकामा रहँदा इक्यान र जिल्ला शाखाबीच प्रभावकारी समन्वय, एकीकृत कार्यप्रणाली, नियमित संवाद, नीतिगत स्पष्टता र साझा कार्ययोजना निर्माणमा सक्रिय भूमिका खेलेको हुमागाईको दाबी छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा लामो समयदेखि अवरुद्ध शैक्षिक परामर्श व्यवसाय नवीकरण प्रक्रिया पुनः सुचारु गर्न सम्बन्धित मन्त्रालयसँग निरन्तर संवाद र संस्थागत पहलमार्फत निर्णायक भूमिका निर्वाह गरेको पनि उनले बताएका छन्।
    महासचिव निर्वाचित भएमा केन्द्र र शाखाबीच स्पष्ट अधिकार क्षेत्र निर्धारण, नियमित समन्वय, कार्यसम्पादनमा आधारित प्रणाली विकास, नयाँ सदस्य विस्तार अभियानलाई तीव्रता दिने उनको प्रतिबद्धता छ। साथै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा नीति निर्माण, संशोधन र कार्यान्वयन प्रक्रियामा सरोकारवाला निकायहरूसँग समन्वय गर्दै इक्यानलाई प्रभावकारी नीतिगत साझेदारका रूपमा स्थापित गर्ने लक्ष्य उनले लिएका छन्।

    आर्थिक स्थायित्व सुनिश्चित गर्ने, युवा तथा नयाँ शैक्षिक परामर्श उद्यमीलाई समेट्ने दीर्घकालीन रणनीति, नयाँ पुस्ताका व्यवसायीका लागि मार्गदर्शन, क्षमता विकास र नेतृत्व विकासका कार्यक्रम कार्यान्वयन गर्ने योजना पनि उनले सार्वजनिक गरेका छन्। नयाँ अध्ययन बजारको पहिचान, अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य र सदस्यहरूको व्यवसायिक अवसर विस्तार गर्ने रणनीतिमा इक्यानलाई अग्रसर बनाउने उनको भनाइ छ।

    इक्यान सबैको साझा संस्था भएकाले एक पटक काम गर्ने अवसर दिन सबै शैक्षिक परामर्श व्यवसायीलाई उनले आग्रह गरेका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar