इक्यान केन्द्रीय सचिवमा सुरज सिलवालको उम्मेदवारी घोषणा, प्रतिबद्धता र कार्ययोजना सार्वजनिक

  • कालिका खवर
  • शुक्रबार, पुस १८, २०८२
  • काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को केन्द्रीय निर्वाचनको मिति नजिकिँदै जाँदा संघभित्र चुनावी माहोल तातेको छ। यही पुस २८ गते हुने निर्वाचनका लागि विभिन्न पदमा उम्मेदवारी घोषणा हुने क्रम जारी रहेको छ।

    यसैक्रममा हाल इक्यानको केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेका व्यवसायी सुरज सिलवालले केन्द्रीय सचिव पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन्। निर्वाचनको मिति सार्वजनिक भएसँगै सिलवालले आफ्नो उम्मेदवारीसहित प्रतिबद्धता र कार्ययोजनासमेत सार्वजनिक गरेका हुन्।

    विगत १५ वर्षदेखि शैक्षिक परामर्श व्यवसायमा सक्रिय रहेका सिलवाल कनेक्ट ग्लोब एजुकेशन ग्रुप (सीजीईजी) का संस्थापक तथा संचालक हुन्। शिक्षा परामर्श क्षेत्रमा प्राप्त व्यावहारिक अनुभव, पेशागत निष्ठा र जिम्मेवारीबोधका आधारमा आफू सचिव पदका लागि योग्य रहेको उनको दाबी छ।

    सिलवालले शैक्षिक परामर्श क्षेत्रमा गुणस्तरीय सेवा, पारदर्शिता, व्यावसायिक नैतिकता र विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणका लागि सही तथा भरोसायोग्य मार्गदर्शन प्रदान गर्दै आएको उल्लेख गरेका छन्। पछिल्लो १० वर्षदेखि इक्यानको साधारण सदस्यका रूपमा सक्रिय रहँदै आएको र अघिल्लो महाधिवेशनबाट उच्च मतसहित कार्यकारी सदस्यमा निर्वाचित भएको तथ्यसमेत उनले स्मरण गराएका छन्।

    आफ्नो दुई वर्षे कार्यकाललाई स्मरणयोग्य रहेको बताउँदै सिलवालले अध्यक्षको नेतृत्वमा तयार गरिएका कार्ययोजना तथा कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउँदै सुम्पिएका जिम्मेवारीहरू कुशलतापूर्वक निर्वाह गरेको बताएका छन्। आगामी कार्यकालमा पनि संस्थाको हितलाई केन्द्रमा राखी निष्ठा, इमान्दारिता, पारदर्शिता र उत्तरदायित्वका साथ सचिव पदको जिम्मेवारी बहन गर्न तयार रहेको उनको भनाइ छ।

    व्यक्तिगत स्वार्थभन्दा माथि उठेर इक्यानको संस्थागत हित र सम्पूर्ण सदस्यहरूको आवाज बन्ने प्रतिबद्धता व्यक्त गर्दै सिलवालले विगतको कार्यसम्पादन, वर्तमान प्रतिबद्धता र भावी कार्ययोजनाको मूल्याङ्कन गरी आफूलाई साथ, सहयोग र अमूल्य मत प्रदान गर्न सम्पूर्ण इक्यानियनहरूसँग आग्रह गरेका छन्।

    सिलवालका प्रमुख प्रतिबद्धता तथा कार्ययोजनाहरू यस्ता छन् :
    – इक्यान सदस्यहरूलाई संघका गतिविधिमा नेतृत्वदायी भूमिका दिँदै व्यावसायिक तथा व्यवहारिक तालिममा सक्रिय सहभागिता सुनिश्चित गर्ने।
    – केन्द्र तथा प्रदेश सरकारसँग समन्वय गरी शिक्षा परामर्श क्षेत्रसँग सम्बन्धित नवीकरण र नयाँ स्वीकृति प्रक्रियालाई सरल र प्रभावकारी बनाउने।
    – विभिन्न देशका विश्वविद्यालय तथा कलेजलाई नेपाल आमन्त्रण गरी अन्तर्राष्ट्रिय नेटवर्किङ र व्यवसायिक सहकार्य कार्यक्रम सञ्चालन गर्ने।
    – निर्वाचित कार्यसमितिभित्र जिम्मेवारीको स्पष्ट बाँडफाँड गर्दै कार्यक्रमहरूलाई परिणाममुखी बनाउने।
    – केन्द्रदेखि शाखासम्म सदस्य–केन्द्रित कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्ने।
    – इक्यानका शाखाहरूलाई सशक्त बनाउँदै सबै सदस्यसम्म सूचना, नेटवर्किङ र व्यवसायिक अवसर सुनिश्चित गर्ने।
    – प्रायोजक खोजी गरी ‘वन डोर पोलिसी’मार्फत बजेट व्यवस्थापन गर्दै केन्द्र र शाखालाई आर्थिक रूपमा मजबुत बनाउने।
    – “द नलेज हाउस” अभियान सञ्चालन गरी कोष संकलन गर्दै इक्यानको आफ्नै भवन निर्माण गर्ने दीर्घकालीन लक्ष्यतर्फ अघि बढ्ने।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar