ई-ड्राइभ नेपालले खरिद गर्‍यो ५० एमजी विन्डसर ईभी, १६ गाडी हस्तान्तरण

  • कालिका खवर
  • शुक्रबार, साउन २९, २०८३
  • काठमाडौं। नेपालको विद्युतीय सवारीसाधन (ईभी) क्षेत्रमा अर्को महत्वपूर्ण उपलब्धि थपिएको छ। जेएसडब्लू एमजी मोटर इन्डियाको आधिकारिक वितरक जीओ अटोमोबाइल्स प्रालि र ई-ड्राइभ नेपाल बीच ५० वटा अत्याधुनिक एमजी विन्डसर कम्युट ईभी उपलब्ध गराउने व्यावसायिक सम्झौता सम्पन्न भएको छ।

    सम्झौताअन्तर्गत ५० मध्ये पहिलो चरणमा १६ वटा एमजी विन्डसर ईभी १३ अगस्ट २०२६ मा ई-ड्राइभ नेपाललाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ। कम्पनीका अनुसार यो कदमले नेपालमा व्यावसायिक फ्लीटमा विद्युतीय सवारीसाधनको प्रयोग विस्तार गर्ने दिशामा नयाँ अध्यायको सुरुवात गरेको छ।

    जीओ अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छाले ५० वटा एमजी विन्डसर ईभीको खरिदले नेपालको व्यावसायिक क्षेत्रमा विद्युतीय गतिशीलताप्रतिको बढ्दो विश्वासलाई प्रतिबिम्बित गर्ने बताए। उनले ई-ड्राइभ नेपालसँगको सहकार्यले दिगो, आधुनिक र प्रविधिमैत्री मोबिलिटी समाधान नेपाली बजारमा विस्तार गर्ने कम्पनीको लक्ष्यलाई थप मजबुत बनाउने उल्लेख गरे। उनका अनुसार एमजी विन्डसर कम्युटले आराम, प्रविधि र कार्यदक्षताको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने भएकाले व्यावसायिक फ्लीटका लागि उपयुक्त विकल्प हो।

    ई-ड्राइभ नेपालका प्रतिनिधिले एमजी विन्डसर ईभीलाई आफ्नो फ्लीटमा समावेश गर्नु कम्पनीका लागि महत्वपूर्ण उपलब्धि भएको बताए। यसबाट ग्राहकलाई प्रिमियम, किफायती तथा शून्य-उत्सर्जनयुक्त यात्रा सेवा उपलब्ध गराउन सकिने र शहरी क्षेत्रमा स्वच्छ तथा दिगो यातायात प्रवर्द्धनमा समेत योगदान पुग्ने विश्वास व्यक्त गरे।

    एमजी विन्डसर कम्युट ईभीमा १०० किलोवाट क्षमताको मोटर, २०० एनएम टर्क र ३८ किलोवाट-आवर ब्याट्री जडान गरिएको छ। यसले एक पटकको चार्जमा ३३० किलोमिटरभन्दा बढी रेन्ज दिने कम्पनीको दाबी छ। साथै १३५ डिग्रीसम्म रिक्लाइन हुने एरो-लाउन्ज सिट, र्‍यापिड चार्जिङ सुविधा, १८६ मिलिमिटर ग्राउन्ड क्लियरेन्स, व्यापक सर्भिस नेटवर्क तथा प्रतिस्पर्धी मूल्यमा स्पेयर पार्ट्सको उपलब्धताले यसलाई व्यावसायिक फ्लीटका लागि थप उपयुक्त बनाएको कम्पनीले जनाएको छ।

    कम्पनीले हाइ-भोल्टेज मोटरमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरसम्मको वारेन्टी तथा व्यावसायिक प्रयोगका लागि सम्पूर्ण सवारीसाधनमा ३ वर्ष वा १ लाख किलोमिटरसम्मको वारेन्टी प्रदान गर्ने जनाएको छ। यो साझेदारीले नेपालमा विद्युतीय सार्वजनिक तथा व्यावसायिक यातायातलाई थप दिगो, वातावरणमैत्री र आधुनिक बनाउने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar