होटेल सब्रिनाको आठौँ वार्षिक साधारणसभा सम्पन्न, २०२७ भित्र ‘ट्राइब काठमाडौं’ सञ्चालनमा आउने

  • कालिका खवर
  • शुक्रबार, अशोज २, २०८३
  • काठमाडौं । होटेल सब्रिना लिमिटेडको आठौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष निराजन थापाको अध्यक्षतामा शुक्रबार असोज २ गते होटेल सब्रिनामा साधारणसभा सम्पन्न भएको हो।

    साधारणसभाले सञ्चालक समितिका तर्फबाट अध्यक्ष थापाले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ। सभाले लेखापरीक्षकको प्रतिवेदनसहित नाफा–नोक्सान हिसाब, वासलात, नगद प्रवाह विवरणलगायतका आर्थिक विवरणसमेत पारित गरेको छ।

    त्यस्तै, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक अनुमोदन गर्ने प्रस्ताव पनि सभाले स्वीकृत गरेको छ। कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने विशेष प्रस्तावसमेत साधारणसभाले पारित गरेको छ।

    कम्पनीका अनुसार आर्थिक वर्ष २०८२/८३ मा व्यवसायबाट ८ करोड १८ लाख रुपैयाँ आम्दानी भएको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा १४.४९ प्रतिशतले बढी हो। सो अवधिमा कम्पनीले अन्य आम्दानीतर्फ ६२ लाख ७१ हजार रुपैयाँ आम्दानी गरेको जनाएको छ।

    कम्पनीले काठमाडौंको बुढानीलकण्ठमा सञ्चालन गरिरहेको होटेल सब्रिनालाई पाँचतारे स्तरमा स्तरोन्नति गरिरहेको छ। स्तरोन्नति सम्पन्न भएपछि विश्वप्रसिद्ध फ्रान्सेली होटल समूह एकोर (Accor) को लाइफस्टाइल ब्रान्ड ‘Tribe’ ले होटलको व्यवस्थापन सम्हाल्नेछ। त्यसपछि होटल ‘Tribe Kathmandu’ नामबाट सञ्चालनमा आउनेछ, जुन नेपालमा ट्राइब ब्रान्डको पहिलो परियोजना हुने कम्पनीले जनाएको छ।

    स्तरोन्नतिपछि होटलमा ११० वटा कोठा रहनेछन्। साथै तीनवटा रेस्टुरेन्ट सञ्चालनमा आउनेछन् भने रूफटपमा रहने रेस्टुरेन्ट काठमाडौंका ठूला रूफटप रेस्टुरेन्टमध्ये एक हुने कम्पनीको भनाइ छ। होटलका कोठाको औसत आकार ३० वर्गमिटर हुने गरी स्तरोन्नतिको काम भइरहेको छ।

    कम्पनीका अध्यक्ष थापाका अनुसार होटललाई सन् २०२७ भित्र पाँचतारे होटलका रूपमा एकोरको लाइफस्टाइल ब्रान्ड ‘Tribe’ अन्तर्गत सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।

    यसैबीच, कम्पनीले प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदनसमेत दिइसकेको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar