हनी ट्रयाप,जेन्जी, बर्थ डे र बुलेट बाइक

डा. राजेन्द्र चापागाई 'आहत'
डा. राजेन्द्र चापागाई 'आहत'
  • सोमवार, चैत्र ९, २०८२
  • आज बिहान, बिहानी हिडाइका लागि काष्ठामान्ड़प कलेज, कलंकी जाने निर्णय गरे र हिडे जहा हिजो मेरो साधन बाइक छोडिएको थियो। ब्रेकफास्ट सहित कलेजका सहकर्मी साथीहरु संग गफ गरि केहि समय बिताए। आज बिहानैदेखि मेरो मनमा एउटा अनौठो मिश्रण भाव थियो – धेरै खुसि र थोरै आशंका। घरभित्र एक किसिमको मधुरता पनि थियो। आज मेरो कान्छो छोरो आज अठार वर्ष पुग्ने दिन, अर्थात उसको जन्मदिन। उसको जीवनको एउटा महत्वपूर्ण मोड, जहाँ बाल्यकाल बिस्तारै टाढिँदै गएको छ र सायद जिम्मेवारीको संसारले बिस्तारै ढोकामा ढकढक गर्न थालेको छ। समय कति छिटो बित्छ ! हिजो मात्रै जस्तो लाग्छ, सानो औँला समाएर हिँड्न सिकाएको, पहिलो पटक “बुवा ” भनेर बोलाएको। अतित संझिए- कान्छो बच्चाकालमा बारम्बार बिरामी परेको र हस्पिटलमा कुरेको, बिरामी ठानेर राति ट्याक्सी मगाई हस्पिटल जान ट्याक्सी चढ्दा उसलाई तुरुन्तै सन्चो लागेर खेल्न थालेको, एक पटक मैले बाथरुममा नुहाइरहेको बेला बाहिरबाट ढोका बन्द गरिदिएको र अरु कसैले ढोका खोलिदिएको, नर्सरीमा पढ्ने बेला ‘केल्स अकेडमि’ बिद्यालयमा हात समातेर डोर्याउदै लगेको, घरमा कसैलाई नटेर्ने तर दिदीलाई फोन गर्दिन्छु भने पछि मात्र आज्ञाकारी बनेको, मैले उत्तर नै दिन नसक्ने अचम्मका प्रश्न सोध्ने गरेको र उ सानो सानो कुरामा खुसी हुने गरेको त्यो निर्दोष अनुहार । अतितका कुराहरु अर्थात उसको बाल्यकाल मेरो मानसपटलमा सिनेमाको रिल घुमे झैँ फनफनी घुमिरहेका थिए।
    आज त्यही अबोध बच्चा ठुलो भएको छ, आफ्ना चाहना र निर्णयहरू परिवार संग राख्न सक्ने भएको छ। आज ऊ आफ्नो जीवनको एउटा नयाँ मोडमा उभिएको छ—अठार वर्षे जवानीको ढोका, स्वतन्त्रताको स्वाद, अनि सपना र चाहनाहरूको सिमाहिनता । मनमनै भनें—“कान्छा, जन्मदिनको असिम शुभकामना! सुस्वास्थ्य, दीर्घायु, सद्बिचार र प्रगतिको अनन्त कामना” । हुन त उ चार क्लासमा सिद्दार्थ बनस्थली स्कुलमा पढ्दा एक जन्मदिनको शुभकामना ‘अन्नपुर्ण पोस्ट’ पत्रिकाको बच्चा बारेको कोलममा प्रकाशन गरेर त्यहि पत्रिका जन्मदिनको उपहार दिएको थिए, त्यो बेला नबुझे पनि अहिले बुझ्छ होला। आज मनको एक कुनामा एउटा सानो डर, आशंका पनि छ —के यो नयाँ उमेरसँगै उसमा बढ्दै गएको उसको जिद्दीपन पनि अझ बढ्दै जाने त होइन? पछिल्ला दिनहरूमा मैले उसमा केही परिवर्तनहरू देखिरहेको छु —अलिक जिद्दीपन, अलिक अधैर्यता, अलि बहकाव र अलि आफ्नै खालको स्वभाव र चाहना।

    केही दिनअघि उसले आफ्नो जन्मदिनको उपहार मागेको थियो- बुलेट बाइक। म बिहानमा त्रिवीमा फेरी बुढेसकालमा पढ्नका लागि भर्ना भइ तिन दसक पछि औपचारिक बिद्यार्थी बनेको र हरेक बिहान हिडेर त्रिविमा पढ्न जाने भएको हुदा कान्छोलाई मेरो बाइक लिएर उसको अमेरिकन कलेज एम आइ टि मा जान भनेको थिए । जहा उसले पढ्यो र पढ्दै छ यी स्कुल/कलेज त मेरा सपना र कल्पनाले पनि थेग्न सक्दैनथ्यो। कसरि पढियो फगत मलाइ थाह छ। तर आज उसलाई मेरो बाइक परम्परागत ‘ओल्ड फेसन’ को बनेको रहेछ, उसलाई रहर रहेछ नया बुलेट बाइक प्रयोग गर्ने। स्वाभाविकै हो समयानुसार चाहना बढ्नु। बुलेट बाइकको माग सुन्दा मैले त्यहि बेला केही बोल्नै सकिनँ। त्यो केवल एउटा बाइक थिएन; त्यो मेरो पारिवारिक स्तर भन्दा अलिक परको चाहना थियो। मैले उसलाई सम्झाउन खोजें “अहिले तिमी मेरो बाइक प्रयोग गरि कलेज जाउ अनि मुख्य ध्यान र एकाग्रता पढाइमा देऊ, पछि किनौँला” । तर ऊ टसको मस भएन किनकि उ आफैले पनि अनलाइन प्रोजेक्ट बाट अलि अलि कमाउन थालेको रहेछ। बुवाले सहयोग नगरे दिदि, दाइ भाउजु संग सहयोग मागेर पनि बुलेट बाइक किन्ने दृढ निर्णय रहेछ भन्ने मलाइ लाग्यो। त्यो क्षणमा मैले महसुस गरें – यो केवल एउटा बाइकको कुरा होइन। यो जेंजी पुस्ताको सोच हो, जहाँ आफ्ना चाहना तुरुन्तै, जुनसुकै उपायबाट पनि पूरा हुनुपर्छ भन्ने अपेक्षा र अधैर्यता हो। मैले पहिलो पटक महसुस गरें, मेरो कान्छो अब सानो बच्चा रहेन। ऊ अब आफ्नो चाहना पूरा गर्न जिद्दी गर्न सक्ने उमेरमा पुगेको छ। एउटा बाउको मनको अर्को कुनामा रहेको आशंका ले भन्यो “कतै त्यही जिद्दीपन कतै भोलि घमण्ड, अहंकार वा अविवेक, असहिष्णुतामा रूपान्तरण हुने त होइन? यही डरले मेरो मन थोरै चिसो बनायो। अन्ततः, मैले हार मानें र उसको बुलेट बाइक चढ्ने माग स्वीकार गरे। संसारमा जम्मा दुइ जना आफु हार्दा खुसि हुन्छन – पितामाता र गुरु। म हारे र उसको प्रस्ताव हुबहु लागि गर्न सहमत भए। मलाइ थाह छ , बाबु हुनु भनेको कहिलेकाहीँ आफ्ना सीमाहरूलाई पनि पार गर्नुपर्छ, सन्तानको खुसीका लागि। बाबुको मनले सन्तानको खुसीलाई आफ्नै सीमाभन्दा माथि राख्छ, सायद कान्छोले पनि आफ्नो बच्चालाई यस्तै गर्ला। यो त् हामि पुर्बिय सस्कृति, इस्टर्न स्कुल अफ थट्स बाट प्रभावित हाम्रो सामाजिक पारिबारिक चरित्र नै हो ।

    आज दिनको करिब ११ बजे तिर मा कलेजबाट फर्किए पछि बर्थ दे हिरो कान्छोको बारेमा खोजि गरे अनि उसलाइ अत्यन्त माया गर्ने र आन्तरिक उर्जा थप्ने दाजु प्रमोदबाट थाह पाए – “कान्छो त आफ्नो साथी आयुससँग नक्सालको बुलेट बाइक सोरुम पुगिसकेको छ। आज उसको बर्थ डे हो र यो बर्थ डे मा बुलेट बाइक खरिद गर्ने उसको पुर्ब निर्णय र सोचमा टसमस छैन”। मैले दाजुसँग नम्बर मागेर त्यो सोरुममा फोन गरें। नम्रताका साथ् सोधे ” मेरो बाउ त्यहा आइसकेको छ, बाइक खरिद गर्दा केही छुट मिल्न सक्छ भने बिचार गरिदिनु है ?” तर फोन उठाउने म्यामको स्वर चिसो थियो—“एक रुपैयाँ पनि छुट हुँदैन, किन्नु छ भने किन्नुहोस्, होइन भने अरु कुरा नगर्नुहोस्।” त्यो जवाफले मेरो मन अलिक खिन्न बनायो। लाग्यो, उनी मसिन जस्तै छन्, उनीमा व्यापारिक व्यवहार र शिष्टता मात्र होइन, मानवीय संवेदनाको समेतको अभाव छ। त्यो ठाडो जवाफा पाएपछि, मलाइ त्याहा जान मन लागेन। ठुलो बाबुलाई सोधे अर्को सोरुम छैन ? उसले छ भनि टेकुको सोरुमको फोन नम्बर दियो। अनि मैले टेकु सोरुममा फोन गरें। त्यहा फोन गर्दा भने बिल्कुलै फरक अनुभव भयो। मैले सोहि कुरा सोधे अनि जवाफ आयो -“सर, आउनुस् न , तपाईंलाई स्पेसल डिस्काउन्ट दिन्छु”। त्यो मधुर स्वर, आदरपूर्ण बोलीले मेरो मन तुरुन्तै त्यतैतिर आकर्षित भयो। मलाई लाग्यो, व्यवसायमा मधुर बोलि नै सबैभन्दा ठूलो पूँजी हो।

    मैले नक्साल गएका केटाहरूलाई टेकु आउन भनें र ठुलो बाबुसँगै म पनि त्यहाँ पुगेँ। टेकु सोरुम भित्र पस्नासाथ ती म्यामले मलाई यस्तो स्वागत गरिन् कि , मानौं म उनको कुनै पुरानो चिनजानको व्यक्ति हुँ। कुर्सीमा बस्न भनिन्, “तातो, चिसो के लिनुहुन्छ?” सोधिन्। मैले नम्रतापूर्वक हस धन्यवाद भन्दै इन्कार गरें किनकि उनको बोलि, व्यवहार र रिसेप्सनले मन जितिसकेको थियो। त्यसपछि कुरा आयो—बुलेट बाइकको मूल्य र छुटको बारेमा। मैले नम्र भाषामा अघि भर्खर फोनमा भनेको कुरा सोधें, उनले भनिन्- “सर, हजुरले आफ्नो कुरा फोनमा नै भन्नु भा छ र म सकारात्मक छु तर म भन्दा माथि सिनियर म्याम हुनुहुन्छ, आज आउनु भएको छैन। मैले उहाँसँग तपाईंको लागि कुरा गरिसकेको छु, उहा पनि सकारात्मक नै हुनुहुन्छ । तपाईं पनि कुरा गर्नुस् न, म म्यामको मोबाइल नम्बर दिन्छु “। अब त म झन् आशावादी भएँ र तुरुन्त फोन गरे। फोनमा सिनियर म्यामसँग कुरा गर्दा पनि उस्तै मिठास, उस्तै आत्मीयता, उस्तै शालीनता पाए। उनले भनिन्, ” हुन्छ सर मेरो कुरा त्यहाको बैनीले पनि म संग कुरा गरेकी थिइन, म अहिले नै फोन गरेर भनिदिन्छु हजुरलाई दिने छुट बारेमा “। म ढुक्क भएँ। टाउको तनक्क तन्काएर ठाडो पार्दै केटाहरूलाई पनि शानका साथ भनें “हामीलाई स्पेसल डिस्काउन्ट मिल्छ है केटाहरु”। अफिसकी जुनियर म्यामलाई उताबाट फोन आयो, खै के भनिन सुन्न पाइएन तर फोन राखे पछि तिनले भनिन्—“तपाईंलाई दस प्रसेण्ट मेरो तर्फबाट र दस प्रसेण्ट सिनियर म्यामको तर्फबाट छुट हुन्छ। तर यो कुरा बाहिर कसैलाई नभन्नु है।” दुइ पटक दोहोर्याएर भनिन “छुट दिएको कुरा कसैलाई नभन्नु है “? मैले कसैलाई नभन्ने प्रतिबद्दता गरे। मैले सोचे मैले बाहिर छुटको कुरा गरे भने अरु ग्राहकले पनि छुट माग्छन र अफिसलाई अफ़्टेरो पर्छ होला। मलाइ सम्मान र माया गरेर दिएको छुट म अरुलाई किन भन्थे र !

    म एकदमै खुसी भएँ। मास्टरी जागिर गरेको मान्छे, मनमनै हिसाब गर्न थालेँ—कति रकम बचत हुन्छ भनेर। त्यो खुसीको क्षण यति मधुर थियो, म प्रफुल्लित भए, तर हिसाब गर्दा ठुलै छुट देखिदा उनको बोलि पत्याउ कि नपत्याउ भन्ने पनि लाग्यो तर अर्को मनले भन्यो आधिकारिक ब्याक्तिले भनेको कुरा सहि हुनुपर्छ। अफिसकी म्यामले बाइकको फुल इन्स्युरेंसको रकम दाखिल गर्न भनिन। ठुलो बाबुले तुरुन्तै पैसा मोबाइल बैंकिङबाट जम्मा गरिदिए। बाइक वासिङ् गरियो, एक्सेसरिजहरु फिट गरियो। मेरा छोराहरूको अनुहारमा खुसीको चमक थियो, म पनि खुशी थिए, हामीले ठूलो डिस्काउन्ट पायौं भनेर। तर जीवनका केही क्षणहरू यस्ता हुन्छन्, जहाँ खुसी अचानक भ्रममा परिणत हुन्छ। अन्तिम बिल लिन जाँदा, मैले देखेँ—त्यो पूर्ण मूल्यको बिल थियो, कुनै छुटको उल्लेख नै थिएन। मैले नम्रतापूर्वक सोधें—“म्याम, छुटको कुरा?” उनको जवाफ आयो—“बाइकको मूल्य त त्यही हो सर, तर एक्सेसरिजमा छुट गरेर १२०० रुपैयाँ घटाइदिएको छु।” म केही क्षण निःशब्द भएँ। यो त एउटा सुन्दर जाल रहेछ—मिठो बोली, नम्र व्यवहार, अनि असहज परिस्थितिको जाल अर्थात ट्रयापको निर्माण। मैले तुरुन्तै बुझे— यो एउटा कुटिल तर भद्दा ब्यापारिक खेल थियो। मिठो बोली, नम्र व्यवहार, र अन्ततः ग्राहकलाई मनोवैज्ञानिक रूपमा बाँधी राख्ने रणनीति।

    मैले पहिले नै हजारौं रुपैयाँ तिरिसकेको थिएँ, एक्सेसरिज फिट गरि बाइक तयार भइसकेको थियो। समय पनि साँझ पर्न लागिसकेको थियो। त्यो क्रय-बिक्रय रद्द गरेर अर्को सोरुममा १२०० बढि नै तिर्ने गरेर जाउ कि भन्ने पनि लाग्यो तर समय ढिला भइ सकेको थियो किनकि आज साँझ कान्छोलाई बाइक उपहार दिएर जन्मदिनको शुभकामना सहित टिका प्रदान गर्नु थियो। म सँग अब विकल्प थिएन। त्यो क्षणमा मैले महसुस गरें—म केवल ग्राहक होइन, एउटा परिस्थितिको बन्दी भइसकेको रहेछु। तर त्यसभन्दा ठूलो कुरा के थियो भने—आज मेरो कान्छाको जन्मदिन थियो। यदि मैले अहिले बाइक नलिएको भए, उसको मन दुख्थ्यो, ऊ आक्रोशित हुन्थ्यो—“जेन्जी फायर” हुने थियो। म एक साहित्यको बिद्यार्थी, भावनामा बहने र अलिक बढि सोच्ने मास्टर बाउ आफ्नै स्तर बचाउन र कान्छो जेन्जीको द्रुत निर्णय र प्राप्तिको चाहना पूरा गर्नका लागि यता ब्यापारी नानि संग पनि क्रय सम्झौता गर्न बाध्य भएँ।

    त्यो क्षणमा मैले आफूलाई एकातिर आफ्नो आत्मसम्मान, अर्कोतिर छोराको खुशीको बिचमा अड्किएको अनुभूति गरे। अन्तत मैले दोस्रो रोजें किनभने बाबुको मन कहिल्यै हार मान्दैन, चाहे उसले आफैलाई किन हराउन किन नपरोस। मलाइ समयले बिकल्प बिहिन बनाएको थियो। एक मनमा त , यस्तो भ्रम, शब्दजाल र छालामा पारिन्छ भने यहाबाट बाइक खरिद नगरौ कि, भोलि अर्को सोरुममा गएर खरिद गरौ कि भन्ने पनि लाग्यो तर गम्भीर भएर सोचे, आजको जेन्जी फरक छ। उनीहरूको संसार छिटो छ, चाहना ठूलो छ, र धैर्यता सानो छ। उनीहरू प्रतीक्षा गर्न चाहँदैनन्; उनीहरू छिट्टै परिणाम चाहन्छन्, त्यसैले त भाद्र २३/२४ को अकल्पनीय बिद्रोह भयो र त्यो बिद्रोहमा सहभागी हुन जाने उसको दमित इच्छा पनि एकदिन अभिव्यक्त गरेको थोयो। यहि फरक छ पुस्ता पुस्ता बीच। हाम्रो पुस्ता फरक थियो , हामीले पर्खन सिक्यौं, जे छ त्यसमा सन्तोष मान्न सिक्यौं, र आफ्नै आर्थिक र पारिवारिक सीमा भित्रै खुसी खोज्न सिक्यौं। सायद यही हो जेन्जी र हामि दुई पुस्ताबीचको अन्तर —जहाँ एउटाले समयलाई पछ्याउँछ, अर्को समयसँगै दौडिन्छ, कहिले समय अगाडि दौडिन चाहन्छन । तर हामी र हाम्रो पुस्ता अझै पनि संघर्ष, प्रतीक्षा र सीमितता भित्र बाँचेको छ । यो दुई पुस्ता बीचको अन्तर कहिलेकाहीँ यति गहिरो हुन्छ कि, दुवै पुस्तालाई बुझ्न गाह्रो पर्छ।

    बाइक लिएर केटाहरुलाई घर आउ भनेर म त्यहाबाट हिडे। घर फर्किदै गर्दा मेरो मनमा धेरै कुरा घुमिरहेका थिए। के मैले ठीक गरें ? कतै मैले उरनठौलो उमेर समुहको मेरो कान्छोको जिद्दीलाई प्रोत्साहन त दिइन? वा मैले एउटा बाबुको कर्तव्य पूरा गरें? उत्तर सजिलो थिएन। तर एउटा कुरा भने स्पष्ट थियो—जीवनले आज मलाई एउटा नयाँ पाठ सिकायो। बोलीको शक्ति, शब्दको मिठास, र मानिसलाई प्रभाव पार्ने कला र नाटक —यी सबै कुरा कति प्रभावशाली हुदा रहेछन। अनि कतै पढेको सम्झे ब्यापारी र ग्राहक बिचको सम्बन्ध यति झिनो हुन्छ कि सामान किन्नु र बिक्रि गर्नु पछि पुन कायम रहदैन- “ह्वेन एन आइटम इज सोल्ड याण्ड बट, द रिलेसनसिप इज ओभर”! आज मैले केवल एउटा बाइक मात्र किनिन, मैले त एउटा अनुभव किनें—ब्यापारिक शब्द जाल र छल अनि समयको परिवर्तन र पुस्ता बिचको अन्तर।

    अन्त्यमा, फेरि मनमनै भनें—“कान्छा, जन्मदिनको शुभकामना! तिमीले चाहेको बाइक पायौ, तर जीवनको बाटो केवल बाइकको स्पीडले मात्र तय गर्दैन । जीवनको बाटो विवेक, धैर्यता र नम्रताले निर्दिस्ट गर्छ। तिम्रो जिद्दीपन सपनामा रूपान्तरण होस्, तर त्यो कहिल्यै घमण्डमा परिणत नहोस्।”

    अन्ततः— बाइक लिएर बाहिर निस्कँदा, मैले ती म्यामलाई हल्का मुस्कानका साथ भनें— “मैले ७ लाखमा किनेको बुलेट बाइकमा तपाईंले दिएको १२०० डिस्काउन्ट म कसैलाई भन्दिनँ है” । यो मेरो व्यंग्य बाण थियो। उनी फिस्स मुस्काइन्—सायद बुझिन्, सायद बुझिनन्। घर फर्कँदा मनमा अनेक भावहरू थिए। एकातिर छोराको खुसी, अर्कोतिर आफू ठगिएको अनुभूति। मैले सोचें— आजको बाइक खरिद पनि एउटा “हनी ट्र्याप” नै हो, तर यो सुन्दरताको होइन, छलपूर्ण ब्यापारिक बोलीको हनी ट्र्याप !

    अर्जुनचौपारी- ५, स्याङ्गजा
    हाल: ‘आहत’ कुटी, किपु-२ ट्याङ्गलाफ़ाट
    aahatchapa@gmail.com

    लेखकको बारेमा

    डा. राजेन्द्र चापागाई 'आहत'

    डा. राजेन्द्र चापागाई 'आहत'

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar