गाईपालन प्रवर्द्धनको नयाँ आयाम: पहिलो अन्तरराष्ट्रिय डेरी एक्स्पोमा प्रतियोगितात्मक गाई प्रदर्शनी

  • कालिका खवर
  • सोमवार, माघ १९, २०८२
  • काठमाडौँ, १९ माघ । नेपालमा पहिलोपटक प्रतियोगितात्मक गाई प्रदर्शनी आयोजना हुने भएको छ। चितवनको भरतपुरमा आयोजना हुन लागेको ‘पहिलो अन्तरराष्ट्रिय डेरी एक्स्पो २०८२’ अन्तर्गत उक्त प्रदर्शनी सञ्चालन गरिने जानकारी आयोजकले दिएका छन्।

    काठमाडौँमा आज आयोजित पत्रकार सम्मेलनमा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले चितवन उद्योग सङ्घ र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेडको संयुक्त आयोजनामा यही माघ २५ देखि २९ गतेसम्म अन्तरराष्ट्रिय डेरी एक्स्पो २०८२ आयोजना हुने जानकारी दिनुभयो। सोही एक्स्पोको मुख्य आकर्षणका रूपमा प्रतियोगितात्मक गाई प्रदर्शनी गरी उत्कृष्ट गाई तथा गाईपालक किसानलाई पुरस्कार प्रदान गरिने उहाँले बताउनुभयो।

    अध्यक्ष बगालेका अनुसार देशभरका किसानलाई गाई सहभागी गराउन आग्रह गरिएको छ। “गाईको आकर्षक बनावट, आवश्यक आहार–विहार, स्वास्थ्य अवस्था लगायतका आधारमा मूल्याङ्कन गरी प्रतियोगितात्मक गाई प्रदर्शनी गर्न लागिएको हो,” उहाँले भन्नुभयो, “यो पहिलो अनुभव हो। यसले गाईपालन प्रवर्द्धन गर्नुका साथै नेपालमै उन्नतस्तरका गाईहरू छन् भन्ने सन्देश दिन मद्दत गर्नेछ।”

    प्रतियोगितामा प्रथम हुने गाईपालक किसानले रु २० हजार, दोस्रो हुनेले रु १५ हजार र तेस्रो हुनेले रु १० हजार नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ।

    डेरी एक्स्पोमार्फत डेरी उत्पादन र उद्यमशीलता प्रवर्द्धन, उत्पादन प्रक्रिया र वितरणमा नवीनतम प्रविधि तथा अभ्यासलाई प्रोत्साहन, साना किसान, उद्योगी र व्यापारीबीच व्यावसायिक सञ्जाल विस्तार, तालिम, अनुदान तथा उद्यमशीलताको अवसर सिर्जना गर्ने उद्देश्य रहेको अध्यक्ष बगालेले स्पष्ट पार्नुभयो। साथै, गुणस्तर अभिवृद्धि र उपभोक्तालाई डेरी उत्पादनको महत्वबारे जागरूक गराउने लक्ष्यसमेत राखिएको उहाँको भनाइ छ।

    एक्स्पोमा नेपालसहित भारत, बङ्गलादेश, पाकिस्तान र भुटानका डेरी उत्पादन तथा प्रविधिको समेत प्रदर्शनी हुने जनाइएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar