ग्लोबल आइएमई बैंकको १९औँ वार्षिक साधारणसभा सम्पन्न, ८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय

  • कालिका खवर
  • बिहिबार, कार्तिक २७, २०८२
  • काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडको १९औँ वार्षिक साधारणसभा बुधबार राजधानी काठमाडौँमा सम्पन्न भएको छ।

    सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चित मुनाफाबाट बैंकले आफ्ना शेयरधनीहरूलाई प्रस्ताव गरेको चुक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।

    साथै, सभाले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र एकीकृत वित्तीय विवरणलाई अनुमोदन गर्दै नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको हो।

    बैंकले आर्थिक वर्ष २०८१/८२ मा रु ७ अर्ब २३ करोड रुपैयाँ सञ्चालन मुनाफा र रु ५ अर्ब ७ करोड रुपैयाँ करपछिको मुनाफा आर्जन गरेको विवरण प्रस्तुत गरिएको छ।

    सभामा आफ्नो मन्तव्य राख्दै अध्यक्ष ढकालले बैंकले नेपाल सरकार र नेपाल राष्ट्र बैंकका नीति–नियमहरूको पूर्ण पालना गर्दै शेयरधनीहरूलाई उचित लाभांश प्रदान गर्न प्रतिबद्ध रहेको बताए। साथै उनले बैंकले नयाँ व्यावसायिक क्षेत्रहरूको सन्तुलित विस्तार गर्दै जाने रणनीति अपनाएको जानकारी दिए।

    सभामा नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेडका प्रतिनिधिहरू, शेयरधनी, संस्थागत लगानीकर्ता, सञ्चारकर्मी तथा नियामक निकायका प्रतिनिधिहरूको उपस्थिति थियो।

    ग्लोबल आइएमई बैंकले अहिलेसम्म ‘बैंक अफ द इयर २०१४’, ‘बेष्ट इन्टरनेट बैंक २०१६’, ‘बेष्ट बैंक नेपाल २०२४ र २०२५’, ‘युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५’, ‘बेष्ट बैंक ईएसजी नेपाल २०२४’, र ‘बेष्ट इम्प्लोयर’ जस्ता प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारहरू प्राप्त गरिसकेको छ।

    देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्न सफल पहिलो निजी वाणिज्य बैंकको रूपमा ग्लोबल आइएमईले हाल ३५२ शाखा कार्यालय, ३८४ एटीएम, १५० शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत १,००० भन्दा बढी सेवा केन्द्रहरूद्वारा ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।

    बैंकले रेमिट्यान्स सेवामार्फत अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत र जोर्डनलगायतका देशहरूबाट आर्थिक सेवा प्रदान गर्दै नेपालको आर्थिक समृद्धिमा योगदान पुर्‍याउँदै आएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar