एनसीएचएलको १५औँ साधारण सभा सम्पन्न, १५ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय

  • कालिका खवर
  • बुधबार, अशोज २८, २०८३
  • काठमाडौं। नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले आर्थिक वर्ष २०८२/८३ को १५औँ वार्षिक साधारण सभा असोज २८ गते काठमाडौंमा सम्पन्न गरेको छ। सभाले शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७८९४७४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

    सभाले लेखापरीक्षण प्रतिवेदनसहित २०८३ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणसमेत स्वीकृत गरेको छ। बोनस शेयर वितरणपश्चात् कम्पनीको चुक्ता पुँजी रु. १ अर्ब ६७ करोड ७२ लाख ८८ हजार २०० पुग्नेछ।

    कम्पनीका अनुसार पुँजी वृद्धिबाट प्राप्त स्रोत राष्ट्रिय भुक्तानी प्रणालीहरूको विकास तथा विस्तार, राष्ट्रिय र अन्तरदेशीय कारोबारका लागि थप भुक्तानी प्रणाली निर्माण, डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर (डीपीआई) सम्बन्धी पूर्वाधार विस्तार, जोखिम व्यवस्थापन सुदृढीकरण तथा सञ्चालनमा रहेका पूर्वाधारहरूको स्तरोन्नतिमा उपयोग गरिनेछ।

    २१० खर्ब रुपैयाँ बराबरको भुक्तानी कारोबार राफसाफ

    आर्थिक वर्ष २०८२/८३ मा एनसीएचएलका भुक्तानी प्रणालीमार्फत कुल २१० खर्ब रुपैयाँ बराबरका २३ करोड ८२ लाख भुक्तानी कारोबार राफसाफ भएका छन्। अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीबाट फर्छ्योट भएका कारोबारको संख्या तथा रकममा १३ प्रतिशत वृद्धि भएको छ।

    कारोबारमा भएको वृद्धिसँगै कम्पनीको सञ्चालन आम्दानी ७ प्रतिशतले बढेको छ। यद्यपि, समीक्षा अवधिमा कम्पनीको खुद नाफा रु. ४१ करोड रहेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २ प्रतिशतले कम हो।

    वित्तीय प्रविधि विकासका लागि छुट्टै कम्पनी स्थापना गरिने

    वार्षिक साधारण सभाले बैंकिङ, वित्तीय तथा भुक्तानी क्षेत्रसँग सम्बन्धित प्रविधि र सफ्टवेयरको अनुसन्धान, विकास तथा जडान गर्ने उद्देश्यसहित छुट्टै पब्लिक लिमिटेड कम्पनी स्थापना गर्न आवश्यक प्रक्रिया अघि बढाउने अख्तियारी सञ्चालक समितिलाई दिएको छ।

    प्रस्तावित कम्पनीले वित्तीय क्षेत्रका लागि आवश्यक प्रविधि तथा सफ्टवेयरको विकास, जडान र सोसँग सम्बन्धित अन्य कार्य गर्नेछ। यसबाट वित्तीय तथा भुक्तानी प्रणालीको प्रविधिगत क्षमता विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    नेपाल राष्ट्र बैंकको ९.४५ प्रतिशत स्वामित्व

    एनसीएचएलको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकबाट एक जना, वाणिज्य बैंकहरूबाट तीन जना, विकास बैंक तथा फाइनान्स कम्पनीहरूबाट क्रमशः एक–एक जना र एक जना स्वतन्त्र सञ्चालकको प्रतिनिधित्व रहेको छ।

    कम्पनीमा नेपाल राष्ट्र बैंकको ९.४५ प्रतिशत तथा बैंक तथा वित्तीय संस्थाहरूको ९०.५५ प्रतिशत स्वामित्व रहेको छ। हाल कम्पनीमा नेपाल राष्ट्र बैंकसहित ५३ सदस्य बैंक तथा वित्तीय संस्था र १५० भन्दा बढी गैरबैंकिङ संस्थाहरू अप्रत्यक्ष वा प्राविधिक सदस्यका रूपमा आबद्ध छन्।

    विभिन्न राष्ट्रिय भुक्तानी प्रणाली सञ्चालनमा

    एनसीएचएलले राष्ट्रिय भुक्तानी पूर्वाधारको विकास तथा सञ्चालनअन्तर्गत एनसीएचएल–ईसीसी, एनसीएचएल–आईपीएस, ईएफटी कार्ड स्विच तथा नेशनल पेमेन्ट स्विच (एनपीएस) अन्तर्गत एनपीएस–एनसीएस र आरपीएस, एनपीआई तथा एनपीआईएक्स प्रणाली सञ्चालन गर्दै आएको छ।

    त्यसैगरी, कम्पनीले कनेक्टआईपीएस, कर्पोरेटपे, कनेक्टआरटीजीएस, नेपालपे क्यूआर र नेपालपे कार्डलगायत विभिन्न डिजिटल भुक्तानी उपकरण तथा सेवा सञ्चालन गरिरहेको छ।

    डिजिटल भुक्तानी कारोबारको विस्तारसँगै एनसीएचएलले राष्ट्रिय भुक्तानी प्रणालीको विकास, पूर्वाधार सुदृढीकरण तथा वित्तीय प्रविधिको विस्तारलाई आगामी दिनमा थप प्राथमिकता दिने देखिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar