एनसेल फाउन्डेसनद्वारा एनपीएल सिजन २ का चौकासँग जोडिएर हजारौँ विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गर्ने घोषणा

  • कालिका खवर
  • आइतवार, कार्तिक ३०, २०८२
  • काठमाडौँ। एनसेल फाउन्डेसनले यस वर्ष पनि आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ का खेलहरूमा हानिने प्रत्येक चौका सँग जोडेर ग्रामीण तथा दुर्गम क्षेत्रका सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई ४ वटा शैक्षिक सामग्री प्रदान गर्ने घोषणा गरेको छ।

    गत वर्ष एनपीएलसँगको सहकार्यबाट २,६१२ विद्यार्थी लाभान्वित भएका थिए। उक्त सिजनमा जम्मा ६५३ चौका हानिएका थिए, जसअनुसार विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको थियो। एनसेलले यो अभियानमार्फत अहिलेसम्म ९,००० भन्दा बढी विद्यार्थीलाई अध्ययन सामाग्री उपलब्ध गराइसकेको छ।

    एनसेल फाउन्डेसनको भनाइ अनुसार यस नवीन सहकार्यले क्रिकेटको उत्साहलाई कक्षाकोठासम्म पुर्‍याउँदै विद्यार्थीको सिकाइमा सकारात्मक प्रभाव पार्ने तथा उज्ज्वल भविष्यका अवसरहरू निर्माण गर्ने लक्ष्य लिएको छ।

    विद्यार्थीलाई उपलब्ध गराइने सामग्रीमा स्कुल ब्याग, कापी, कलम, पेन्सिल, इरेजर, कटर लगायत आवश्यक स्टेशनरी सामान समावेश हुनेछन्। यसले स्रोत अभावमा अध्ययन गरिरहेका विद्यार्थीलाई प्रत्यक्ष सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    एनसेलकी कर्पोरेट कम्युनिकेशन तथा सस्टेनेबिलिटी डाइरेक्टर विशाखा लक्ष्मी खड्काले भनिन्,
    “क्रिकेटले हामी सबैलाई जोडेको छ। एनपीएलसँगको यस सहकार्यमार्फत सामुदायिक विद्यालयका विद्यार्थीहरूको उज्यालो भविष्यका लागि यो पहल निरन्तर अघि बढाउन पाउँदा हामी धेरै खुसी छौँ। खेलमा प्रहार हुने प्रत्येक चौका विद्यार्थीले भविष्यमा प्राप्त गर्ने अवसर, सिकाइ र विकाससँग जोडिनेछ।”

    एनसेलका अनुसार शैक्षिक सामग्री नेपाल क्रिकेट संघ (क्यान), स्थानीय तह र कार्यान्वयन साझेदारहरूमार्फत वितरण गरिनेछ। यस अभियानले क्रिकेट मैदानको समर्पण र खेलाडीको उत्कृष्ट प्रदर्शनलाई शिक्षा प्रवर्द्धनका माध्यममा रूपान्तरण गर्ने विश्वास फाउन्डेसनले व्यक्त गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar