एमालेले बनायो नारदमूनि रानालाई कैलाली–५ को चुनावी कमान्डर

  • कालिका खवर
  • शनिबार, माघ १०, २०८२
  • धनगढी । नेकपा एमालेले कैलाली–५ मा पूर्व पोलिटब्युरो सदस्य तथा कैलाली इन्चार्ज नारदमुनि रानालाई चुनावी कमान्डर बनाएको छ । शुक्रबार बसेको क्षेत्र नम्बर ५ को क्षेत्रीय समन्वय कमिटीको बैठकले रानाको संयोजकत्वमा चुनावी तयारीका लागि १ हजार १ सदस्यीय मूल परिचालन समिति गठन गरेको हो ।

    समितिको उपसंयोजक पार्टीका सुदूरपश्चिम प्रदेश सचिव रणबहादुर चन्दलाई बनाइएको छ । यस्तै, रानाकै संयोजकत्वमा २५ सदस्यीय मूल निर्वाचन परिचालन समितिको सचिवालय पनि गठन गरिएको छ । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एमालेले कैलाली–५ मा जिल्ला अध्यक्ष यज्ञराज ढुङ्गानालाई उम्मेदवार बनाएको छ ।

    सचिवालयमा कैलाली–५ बाट प्रतिनिधित्व गर्ने विभिन्न तहका नेताहरूलाई सदस्य बनाइएको छ । ढुङ्गानाको चुनावी कमान्डर बनेका राना २०७४ सालमा कैलाली–५ मा कांग्रेस नेतृ आरजु राणालाई पराजित गरेका थिए भने २०७९ मा कांग्रेसका डिल्लीराज पन्तसँग पराजित भएका थिए ।

    राना यस पटक पनि उम्मेदवारका आकाङ्क्षी थिए तर पार्टीले भने जिल्ला अध्यक्ष ढुङ्गानालाई टिकट दिएपछि उनी चुनावी कमान्डर बनेर पार्टीको उम्मेदवार जिताउन सक्रिय भएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar