एमाले उम्मेदवार प्रदीप यादव भन्छन् : पर्सामा पार्टीको एकताले जित सुनिश्चित हुँदैछ

  • कालिका खवर
  • बुधबार, माघ १४, २०८२
  • वीरगंज – पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट नेकपा (एमाले) का उम्मेदवार प्रदीप यादवले पर्सामा एमालेलाई विजयी बनाउने लक्ष्यसहित पार्टीका नेता तथा कार्यकर्ताहरू एकजुट भएर सक्रिय रूपमा लागेको देख्दा आफूमा थप ऊर्जा र आत्मविश्वास बढेको बताएका छन्।

    बुधबार वीरगंजमा सम्पन्न नेकपा एमाले वीरगंज महानगर कमिटीको चौथो पूर्ण बैठकलाई सम्बोधन गर्दै पूर्वमन्त्री यादवले विशेषगरी युवा कार्यकर्ताहरूको उत्साह, सक्रियता र समर्पणले पर्सामा एमालेको जित सुनिश्चित हुँदै गएको दाबी गरे। उनले पार्टीलाई जिताउने मुख्य आधार नेता–कार्यकर्ताहरूको मेहनत र संगठनात्मक एकता नै भएको उल्लेख गर्दै यसपटक पर्सामा त्यो एकता स्पष्ट रूपमा देखिएको बताए।

    यादवले भने, “यसपटक पर्सामा एमालेका नेता र कार्यकर्ताहरू एकजुट भएर लागेको देख्दा हामी उम्मेदवारहरूको मनोबल निकै बढेको छ। यसले हामीलाई थप ऊर्जा दिएको छ र चुनावी अभियानलाई अझ प्रभावकारी बनाएको छ।”

    एमाले वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष लियाकत अलिको अध्यक्षतामा तथा केन्द्रीय सदस्य विजयकुमार सरावगीको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा वीरगंज महानगर इन्चार्ज विचारी यादवको पनि उपस्थिति रहेको थियो। बैठकले आगामी निर्वाचनलाई प्रभावकारी रूपमा सञ्चालन गर्न ५५१ सदस्यीय वीरगंज महानगर निर्वाचन परिचालन कमिटी गठन गर्ने निर्णयसमेत गरेको छ।

    बैठकमा पार्टीको समसामयिक राजनीतिक अवस्था, संगठन विस्तार तथा जनआधार मजबुत बनाउने विषयमा व्यापक छलफल भएको थियो। नेताहरूले आगामी निर्वाचनमा पार्टीलाई विजयी बनाउन सबै तहका कार्यकर्ताहरू एकताबद्ध भएर सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए।

    बैठकमा पर्सा निर्वाचन क्षेत्र नम्बर–२ की उम्मेदवार रिमा यादव, क्षेत्र नम्बर–३ का उम्मेदवार रूपेश पाण्डेलगायत पार्टीका केन्द्रीय, जिल्ला तथा महानगर तहका नेता–कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar