एकता गर्न सजिलो छ, बलियो बनाउन विचार पुर्‍याउनुपर्छ : माधव नेपाल

  • कालिका खवर
  • बुधबार, कार्तिक २६, २०८२
  • काठमाडौँ । नवगठित नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले पार्टी एकता गर्न सजिलो भए पनि पार्टीलाई बलियो बनाउन कठिन रहेको बताएका छन् । बुधबार नेता भीम रावल, प्रकाश शाहलगायत नेपाली कम्युनिस्ट पार्टीमा समाहित समारोहलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

    ‘एकता गर्न सजिलो छ तर यसलाई बलियो बनाउनका लागि धेरै कुरामा विचार पुर्‍याउनुपर्ने आवश्यकता पर्छ’, नेता नेपालले भने– ‘२०७५ साल जेठ ३ गते दुई वटा पार्टी मिलेर नेकपा गठन गरिएको थियो । दुई पार्टी मिल्ने निश्चित भएपछि २०७४ को चुनावमा झन्डै दुई तिहाइ मत जनताले दिएका थिए त्यो सङ्केत कम्युनिस्ट एकै ठाउँ बसुन् भन्ने हो ।’

    नेता नेपालले नेपाली कम्युनिस्ट पार्टी गठन हुँदै गर्दा केही कम्युनिस्ट पार्टीका नेतालाई चिन्ता परेको भन्दै नवगठित पार्टीका नेतारुले विगतका गल्ती कमजोरी सच्चाउँदै नयाँ क्रान्तिकारी आचरण बोकेको पार्टी निर्माण अभियानमा जुटेको बताए । ‘कमजोरी छन् भने सुधार्ने सङ्कल्प गरौँ’, नेपालले भने ‘सङ्कल्प गरेर व्यवहारमा देखाउनुभयो भने तपाईंले ठुलो योगदान गर्दै जानुहुनेछ । तर पुरानै कुराको पुनरावृत्ति गर्नुभयो भने कुनै मूल्य रहने छैन ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar