एबीसी आयल इन्डस्ट्रीजको व्यापार एकै वर्षमा ३ गुणा वृद्धि, निर्यात र उत्पादनमा उछाल

  • कालिका खवर
  • सोमवार, मंसिर ८, २०८२
  • काठमाडौँ । देशको तेल उद्योगमा बलियो उपस्थिति कायम गर्दै आएको एबीसी आयल इन्डस्ट्रीजको व्यापारमा गत वर्ष उल्लेख्य वृद्धि देखिएको छ। केयर रेटिङ नेपाल लिमिटेडका अनुसार कम्पनीले सन् २०२५ मा ४ अर्ब ३५ करोड ९० लाख रुपैयाँको कुल कारोबार गरेको छ, जुन सन् २०२४ को १ अर्ब ४१ करोड ३० लाख रुपैयाँको व्यापारको तुलना मा ३.०८ गुणा बढी हो।

    कम्पनीको लगातार विस्तार र निर्यातमैत्री वातावरणले व्यापारमा उछाल ल्याएको विश्लेषकहरूले बताइरहेका छन्। सन् २०२३ मा कम्पनीको व्यापार २ अर्ब १२ करोड ७० लाख रुपैयाँ रहेको थियो।

    एबीसी आयल इन्डस्ट्रीज सन् २०२१ मा स्थापना भएको कम्पनी हो र सन् २०२२ को मेदेखि व्यावसायिक उत्पादन सुरु गरेको थियो। हालसालै कम्पनी पब्लिक कम्पनीमा रूपान्तरण भइसकेको छ। कम्पनीको वार्षिक प्रशोधन क्षमता ६० हजार मेट्रिक टन रहेको छ।

    कम्पनीले ३६ हजार मेट्रिक टन पाम तेल, १२ हजार मेट्रिक टन सनफ्लावर तेल, र १२ हजार मेट्रिक टन भटमास तेल प्रशोधन गर्ने क्षमता राख्छ। कच्चा तेल कम्पनीले इन्डोनेसिया, मलेसिया, रुस, अर्जेन्टिना, चीन र युक्रेनबाट आयात गर्छ। प्रशोधनपछि उत्पादित तेल नेपाली बजारसँगै भारतमा पनि ठूलो परिमाणमा निर्यात हुँदै आएको छ।

    भारतले गत वर्ष सेप्टेम्बरमा कच्चा तथा प्रशोधित तेलमा भन्सार दर बढाएपछि नेपाली उद्योगलाई प्रत्यक्ष लाभ पुगेको थियो। विशेषगरी कच्चा सनफ्लावर तेलमा २० प्रतिशत र प्रशोधित तेलमा ३२.५ प्रतिशत भन्सार वृद्धि भएपछि निर्यात प्रतिस्पर्धा बढेको थियो। तर हाल भारतले कच्चा तेलमा भन्सार दर घटाएर १० प्रतिशत र आयात शुल्क २७.५ बाट १६.५ प्रतिशतमा झारेपछि भविष्यको व्यापार प्रवाहमा केही उतारचढाव आउने अनुमान गरिएको छ।

    कम्पनी हाल अध्यक्ष सञ्जय कोइरालाको नेतृत्वमा संचालन भइरहेको छ। कम्पनीले कर्जा सुविधाका लागि २ अर्ब ६० करोड २५ लाख रुपैयाँ बराबरको रेटिङ गराएको छ, जसमा दीर्घकालीन कर्जा ३० करोड २५ लाख रुपैयाँ र अल्पकालीन कर्जा २ अर्ब ३० करोड रुपैयाँ रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar