छैटौँ राष्ट्रिय कराते च्याम्पियनसिप असोज १० गते हुदै

  • कालिका खवर
  • आइतवार, अशोज ४, २०८३
  • काठमाडौं । नेपाल मुनिज शिरोइ शिशि–रियो कराते संघको आयोजनामा छैटौँ राष्ट्रिय कराते च्याम्पियनसिप–२०२६ आयोजना हुने भएको छ। प्रतियोगिता आगामी २०८३ असोज १० गते काठमाडौंस्थित आनन्दकुटी विद्यापीठ माध्यमिक विद्यालयमा सञ्चालन हुने आयोजकले जनाएको छ।

    प्रतियोगितामा देशका विभिन्न स्थानबाट करिब ३० वटा टिमको सहभागिता रहने आयोजकको तयारी छ। प्रतियोगितामार्फत विद्यालय तथा युवा तहका खेलाडीको प्रतिभा पहिचान, कराते खेलको विकास तथा राष्ट्रियस्तरमा खेलाडीको क्षमता अभिवृद्धि गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ।

    नेपाल मुनिज शिरोइ शिशि–रियो कराते संघका प्रशिक्षक तथा महासचिव बिनोद श्रेष्ठले प्रतियोगिताले नेपाली कराते खेलको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने बताए। उनले भने, “कराते खेलमा नयाँ पुस्ताको आकर्षण बढ्दै गएको छ। यस प्रतियोगितामा करिब ३० वटा टिमको सहभागिता रहने अपेक्षा गरेका छौँ। विभिन्न उमेर समूहका खेलाडीलाई प्रतिस्पर्धाको अवसर प्रदान गर्दै उनीहरूको क्षमता र प्रतिभालाई राष्ट्रियस्तरमा उजागर गर्ने हाम्रो उद्देश्य हो।”

    उनका अनुसार प्रतियोगितामा सहभागी खेलाडीले आफ्नो सीप र क्षमतालाई प्रतिस्पर्धात्मक रूपमा प्रस्तुत गर्ने अवसर पाउनेछन्। नियमित प्रतियोगिताले खेलाडीको आत्मविश्वास बढाउनुका साथै आगामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी तयार गर्न सहयोग पुग्ने श्रेष्ठको भनाइ छ।

    त्यस्तै, नेपाल मुनिज शिरोइ शिशि–रियो कराते संघका उपाध्यक्ष तथा प्रतियोगिता संयोजक सन्तोष दाहालले प्रतियोगितालाई व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउन आवश्यक तयारी भइरहेको बताए। उनले भने, “देशका विभिन्न ठाउँबाट आउने खेलाडी तथा टिमलाई उत्कृष्ट वातावरणमा प्रतिस्पर्धा गराउने गरी तयारी अघि बढाएका छौँ। खेलाडीको प्रतिभा पहिचान र करातेको संस्थागत विकासमा प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौँ।”

    दाहालले प्रतियोगितालाई सफल बनाउन खेलाडी, प्रशिक्षक, निर्णायक तथा सम्बन्धित सबै पक्षको सहयोग आवश्यक रहेको उल्लेख गर्दै प्रतियोगितालाई आगामी वर्षहरूमा अझ व्यापक बनाउँदै लैजाने लक्ष्य रहेको बताए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar